ओलीको गृहजिल्लामा एमालेको एकल बहुमत

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा नेपाली कांग्रेस र सत्ता गठबन्धनलाई चारवटा पालिकामा प्रमुख जिताउन सहयोगी बनेको नेकपा माओवादी केन्द्र आफू भने कतै पनि जित्न असफल भएको छ ।

झापाका १४ वटा स्थानीय तहमध्ये ओलीको निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन र राप्रपा समेतको तालमेल भएको थियो भने अन्यत्र कांग्रेस र माओवादीलेमात्र तालमेल गरेर नेकपा एकीकृत समाजवादी र जसपालाई बाहिर राखेका थिए । नतिजा आउँदा कांग्रेसले माओवादीको सहयोगमा कम्तीमा तीनवटा पालिकाको प्रमुख जित्यो तर उपप्रमुख पाएको माओवादीले कतै पनि जित निकाल्न सकेन ।

भद्रपुर नगरपालिकामा गठबन्धनबाट कांग्रेसका गणेश पोखरेल मेयर बन्दा माओवादीका उपमेयर उम्मेदवार शिवकुमार राजभण्डारी पराजित भए । त्यहाँ राप्रपाकी राधा कार्कीले जितिन् । त्यस्तै कमल गाउँपालिकामा कांग्रेसका हुकुमसिंह राई ३ हजार मतान्तरमा अध्यक्षमा बिजयी हुँदा माओवादीका उपाध्यक्ष उम्मेदवार पर्शुराम सुवेदी २५ सय मतान्तरले एमालेकी प्रमिला सुवेदीसँग पराजित भए ।

बुद्धशान्ति गाउँपालिकामा गठबन्धनबाट कांग्रेसका मनोज प्रसाई ३ हजार मतान्तरले अध्यक्ष जित्दा उपाध्यक्षमा भने माओवादीका खड्ग तिम्सिना ३ हजार मतान्तरले नै पराजित भए ।

कांग्रेस र माओवादीले गठबन्धन गरेकामध्ये बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी, कनकाइ, गौरादह, बाह्रदशी नगरपालिकामा दुवै पद एमालेले जितेको छ भने मेचीनगर नगरपालिकामा गणना जारी रहँदा गठबन्धन पराजित हुने लगभग निश्चित छ ।

दमकमा भने राप्रपालाई मेयर र कांग्रेसलाई उपमेयर बनाएर माओवादी केन्द्र तथा नेकपा एस मतदातामात्र बनेका छन् ।जिल्लाभरीको मतगणना मेचीनगरबाहेक अन्त्रय सकिँदा एमालेले बहुमत पालिका जितेर जिल्ला समन्वय समिति एक्लै गठन गर्ने हैसियत बनाएको छ ।

गणना सकिएकामध्ये कांग्रेसले बुद्धशान्ति, झापा, कचनकवल, कमल, गौरीगञ्ज गाउँपालिका र भद्रपुर नगरपालिकाको मेयर जितेको छ । तीमध्ये झापा र भद्रपुरबाहेक अन्य पालिकाको उपप्रमुख एमालेले जितेको छ । राप्रपाले दमकको मेयर र हल्दिबारी गाउँपालिकाको अध्यक्ष-उपाध्यक्ष जितेको छ ।

एमालेले मेची नगर नगरपालिका जित्दै गर्दा बिर्तामोड, अर्जुनधारा, कनकाई, बाह्रदशी, शिवसताक्षी र गौरादह नगरपालिका जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय