मै हुँ भन्ने नेताहरूमाथि बालेन साहको धावा

काठमाडौं – स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंगलबार काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ल्याएको मतलाई सबैले स्वीकार्नुपर्ने टिप्पणी गरे ।

उनले बालेनले जसरी काठमाडौंका मतदातालाई आफूहरूले बुझाउन नसकेको स्वीकारोक्ति मात्र गरेनन्, अबदेखि उम्मेदवार चयनमा नेपाली कांग्रेसले फरक तरिका अपनाउनुपर्ने धारणा पनि राखे ।

मंगलबार नै एमाले सचिव योगेश भट्टराईले काठमाडौं महानगरमा मात्र होइन, सबैतिर पार्टी नेतृत्वले उम्मेदवारी चयनमै गलत गरेकाले अहिलेको अवस्था पार्टीले भोग्नुपरेको टिप्पणी गरे ।

उनले गठबन्धन र उम्मेदवारकै कारण आफ्नो पार्टीले कमजोर परिणाम ल्याएको स्वीकार गरे । स्थानीय निर्वाचनको मत परिणाम सार्वजनिक भइरहँदा कांग्रेस ठूलो पार्टी बन्ने दिशामा अघि बढेको छ ।

कांग्रेसले अहिलेसम्म एक सय ८८ स्थानीय तहमा जित हासिल गरेको छ भने एक सय २५ तहमा अग्रता लिइरहेको छ । अघिल्लो निर्वाचनमा पनि कांग्रेसले दुई सय ६६ स्थानीय तह जितेको थियो । तर, यसपटकको निर्वाचनमा माओवादी केन्द्रले नसोचेको परिणाम हात पारेको छ ।

एमालेले धेरै नेता कार्यकर्ता लगे पनि माओवादीको जनाधार घटेको देखिएन । यी सबै घटना भइरहँदा पनि अहिले सबैको ध्यान काठमाडौं महानगरका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले खिचेका छन् ।

उनले एमाले र कांग्रेस जस्तो स्थापित पार्टीका उम्मेदवारलाई मतगणनामा धेरै पछाडि छाडेपछि नेपालका मै हुँ भन्ने नेताहरूको ओठतालु सुकेको छ । प्रमुख दल र नेताहरूमाथि बालेनले धावा बोलेका छन् । अहिलेकै जस्तो भोट प्याटर्न गएको भए काठमाडौं महानगरपालिकाको मेयरमा बालेनले जित्ने निश्चित छ ।

त्यही कारण पनि अहिलेसम्म एमाले अध्यक्ष केपी ओलीले बाहिर केही बोल्न सकेका छैनन् । दुई दिनअघिसम्म आफू नै मेयरमा विजयी हुने दाबी गर्ने केशव स्थापितसमेत भूमिगत भएका छन् ।

बालेनले कोर सिटीमा पनि राम्रो भोट पाइरहेका छन् । देशकै राजधानी काठमाडौंमा स्वतन्त्र उम्मेदवारले चुनाव जितेमा यसको म्यासेज अर्कै ढंगले जाने भएकाले पनि अहिले सबैजसो दलका नेताहरूको बोल्ती बन्द भएको छ ।

बालेनले मेयरमा जितेमा आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा ठूला दललाई स्वतन्त्र उम्मेदवार निकै चुनौती बन्ने देखिन्छ । – मिडिया डबलीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय