कास्कीको गठबन्धन बैठकमै चर्काचर्की, मेयर नदिए एमालेसँग मिल्ने समाजवादीको चेतावनी

नेकपा एकीकृत समाजवादीलाई मेयर मान्न नसकिने कांग्रेसको अडानपछि कास्की गठबन्धनको बैठक टुंगिएको छ।

कांग्रेसको एकोहोरो अडानपछि आक्रोशित एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले यस्तै परिस्थिति रहे गठबन्धन नहुने बरु एमालेसँग सहकार्य हुनसक्ने अभिव्यक्ति दिएको बैठकमा सहभागी एक नेताले बताए।

उहाँले ‘हामी एमालेमा मिसिन्छौँ भन्नुभयो। हामी उम्मेदवारी दिँदैनौँ, केन्द्रका नेतालाई भनिसकेँ’ भन्नुभयो’,धनराजको भनाइ उद्धृत गर्दै ती नेताले भने,‘त्यसपछि भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ।’

, एकीकृत समाजवादीका कास्की अध्यक्ष धनराज आचार्यले भने बैठकमा ८० सहमति भएको बताउँदै भोलि बस्ने गरी बैठक सकिएको जानकारी दिए।

बैठकमा चर्काचर्की भएको अस्वीकार गर्दै उनले भने,‘त्यही बैठकमा पनि बस्ने, विज्ञप्ति पनि दिने कुरा भएन भनेको हो। सभापति (कांग्रेस) ले यो हाम्रो आधिकारिक धारणा होइन भन्नुभयो।’

उनले कास्कीमा एमालेविरुद्धको लडाइँमा समाजवादीलाई बाहिर राख्नु भनेको हतियारबिनाको मैदानमा उत्रिनु हुने चेतावनी दिए।

‘उहाँहरुले गठबन्धन गर्नुभएन भने पनि चुनाव लडिन्छ भन्ने त हाम्रो पार्टीको धारण हो नि!,’ उनले भने।

यहीबीचमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कास्की सभापति किशोरदत्त बरालसँग पछिल्लो घटनाक्रमबारे जानकारी लिएको उनले बताए।

सभापति बरालका अनुसार एकीकृत समाजवादीले केन्द्रीय गठबन्धनको बैठकमा कास्कीमा आफू बलियो भएको जिकिर गरेपछि शक्ति प्रमाणित गर्न समय दिनेबारे छलफल चलाइएको छ।

‘तपाईंहरु बलियो नै हो भने दुबै पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गरौँ, प्रचारमा हिँडौं, जो शक्तिशाली देखिन्छ,अन्त्यमा त्यसैलाई समर्थन गरौँ भन्ने प्रस्ताव केन्द्रमा गरिएको रहेछ’,सभापति बरालले भने,‘हामी सबै सम्भावनाका बीच गुज्रिरहेका छौँ, गठबन्धन तोडौँ भन्ने हाम्रो आशय हैन तर हार्ने गठबन्धन किन भन्ने कार्यकर्तालाई उत्तर दिने ठाउँ पाउनुपर्छ भन्ने हाम्रो माग हो।”

कास्की कांग्रेसबाट मेयरमा १८ र उपमेयरमा १० जना आकांक्षी छन्। कांग्रेसले सोमबार नै सामूहिक कार्यक्रम आयोजना गरी उम्मेदवारहरुसँग कार्ययोजना मागेको छ।

कार्ययोजना मागेपछि साझा उम्मेदवार तय गर्ने प्रयत्न गरिने र सम्भव नभए प्रदेश समिति हुँदै प्रस्तावित नामहरु केन्द्रमा पठाइने तयारी गरिएको छ।

मेयर नछाड्ने अडानमा रहेको कांग्रेसको नगर,जिल्ला र प्रदेशका बैठकहरु चलिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय