भरतपुरको मेयरमा प्रचण्डले रेनुलाई नै अघि सार्ने, प्रधानमन्त्री देउवाको ‘ग्रिन-सिग्नल’

काठमाडौं, ४ बैशाख । नेकपा (माओवादी केन्द्र) ले भरतपुर महानगरको मेयरमा पूनः रेनु दाहाललाई नै उठाउने तयारी गरेको छ । भरतपुरको विकास र समृद्धिको लागि रेनुले मेयरको रुपमा धेरै राम्रो भूमिका खेलेको भन्दै आगामी निर्वाचनमा उनलाई नै दोहोर्याउने माओवादीको तयारी छ ।

पछिल्लो समय सत्ता गठबन्धनमा ६ वटा महानगर र ११ वटा उपमहानगरको भागबण्डा केन्द्रबाट नै टुँगो लगाउने तयारी भएको छ । गठबन्धनको आजपनि बैठक बसेको थियो । भोलिसम्म गठबन्धनले महानगर र उपमहानगरको नेतृत्व कसलाई दिने भन्नेबारे टुँगो लगाउने जनाईएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने गठबन्धनको बैठकमा भरतपुरको नेतृत्व माओवादीले पाउनुपर्ने अडान राखेका छन् । चितवन कांग्रेसले भने भरतपुरको नेतृत्व कुनैपनि हालतमा माओवादीलाई दिन नसकिने अडान राखेको छ।

चितवन कांग्रेसका नेताहरुले केन्द्रमा शीर्ष नेताहरुलाई भेटेर भरतपुरमा गठबन्धन नगर्न र गर्नुपरे पनि नेतृत्व नछोड्न दबाब दिएका छन् । तर, सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भने भरतपुरको नेतृत्व माओवादीलाई नै दिने सहमति जनाएका छन् ।

उनले पार्टीको आन्तरिक बैठकमा समेत यस्तै संकेत गरेको कांग्रेस नेताहरुले बताएका छन् । हिजो बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समेत देउवाले भरतपुर महानगरको नेतृत्वमा माओवादीलाई दिने सहमति जनाएका थिए ।

उनले देशव्यापी रुपमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्नुपर्ने धारणा राखेका छन् । उनले गठबन्धनका नेताहरुलाई चिढ्याउनेगरि अभिव्यक्ति नदिन पनि नेताहरुलाई निर्देशन दिएका छन् । आफू गठबन्धनको बलमा नै प्रधानमन्त्री बनेको भन्दै तीनै तहको निर्वाचनसम्म यसलाई कायम राख्नुपर्ने देउवाको भनाई थियो ।

पछिल्लो समय प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका अध्यक्ष दाहालको भेटवार्ता बाक्लिएको छ । उनले कुनैपनि हालतमा भरतपुरको मेयर माओवादीलाई दिनुपर्ने प्रस्ताव राखेका छन् । दाहालको प्रस्तावमा देउवा सकारात्मक बनेका छन् । सोहीअनुसार दाहालले पार्टीमा नेताहरुलार्इृ ब्रिफिङ गरेका छन् ।

आम रुपमा कांग्रेसका नेताहरु चुनावी तालमेलको पक्षमा रहेकाले केही नेताले विरोध गर्दैमा केही फरक नपर्ने दाहालको ब्रिफिङ छ । भरतपुरको मेयरमा दाहालले यसपटक पनि रेनुलाई दोहोर्याउन चाहेका छन् ।

उनले रेनुको चितवनमा नै पुगेर प्रशंसासमेत गरेका छन् । उनले आफू भरतपुरमा रेनुको बुवा भनेर चिनिन थालेको भन्दै रेनुले पाँच वर्षमा जनपक्षीय काम गरेको बताउने गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय