भरतपुर माओवादी केन्द्रको हो भन्नेमा दुबिधा छैन, कांग्रेसलाई कुनै पनि हालतमा मेयर छाडिँदैनः नारायणप्रसाद दाहाल

काठमाडौं, ४ वैशाख । नेकपा (माओवादी केन्द्र)का नेता एवं सांसद नारायणप्रसाद दाहालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई कमजोर बनाउन भरतपुरमा देशी विदेशी शक्तिले आँखा लगाएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता दाहालले भने, “यतिखेर माओवादीलाई कमजोर बनाउनु भनेको प्रचण्डलाई कमजोर बनाउनु हो । प्रचण्डलाई कमजोर बनाउनु भनेको भरतपुरलाई कमजोर बनाउनु हो । प्रचण्डलाई अहिलेको प्रक्रियाबाट बाहिर ल्याउनु भनेको संविधान, लोकतन्त्र, लामो संघर्षको उपलब्धिलाई धरापमा पार्नु हो ।

उनले भरतपुर महानगरपालिका माओवादी केन्द्रले नछाड्ने पनि बताए । दाहालले भने, भरतपुर महानगरपालिका कुनै पनि हालतमा छाडिँदैन । रेणु दाहालको माग प्रचण्ड र गठबन्धनको भन्दा पनि भरतपुरका जनताको माग हो । रेणु दाहाल जनताको अनिवार्य आवश्यकता भैसक्यो ।”

नेपाली कांग्रेसका कार्यकर्ताले पनि रेणु दाहाललाई स्वीकारिसकेको दाबी उनले गरे । उनले थपे, “नेपाली कांग्रेसका केही नेताहरुले एक खाले द्वन्द्व निकालेका छन् । माओवादी केन्द्रलाई महानगर र संसदीय क्षेत्र छाड्नु पर्दा अप्ठ्यारो हुने भनेका छन् । तर नेपाली कांग्रेसको शीर्ष नेतादेखि वडासम्म कार्यकर्ताले भरतपुर माओवादीलाई हो भन्ने परिसकेको छ । औपचारिक रुपमा लिखित निर्णय गर्न मात्र बाँकी छ । भरतपुर माओवादी केन्द्रको हो भन्नेमा दुबिधा छैन ।”

भरतपुर चाहिन्छ भन्ने कांग्रेसले माओवादीलाई काठमाडौं र ललितपुर छाड्न सक्नुपर्ने चुनौती पनि दाहालले दिए । उनले भने, “काठमाडौं, विराटनगर, पोखराको चर्चा नचल्ने, भरतपुरको मात्र किन चल्यो ? भरतपुर ठूलो र महत्त्वपूर्ण सहर भएर होइन । माओवादी केन्द्र र प्रचण्डको क्षेत्र भएकाले सम्पूर्ण ताकत लगाएका छन् । विरोधीहरुले प्रचण्डलाई ठेगान लगाउन खोजेको नेपाली कांग्रेसका साथीहरुले पनि बुझेका छन् । ललितपुर र विराटनगर कांग्रेसलाई नै चाहिने हो भने भरतपुर हामीलाई किन नचाहिने ?”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय