राप्रपाको कार्यक्रममा रक्सी खाएर उत्पात मच्चाउने धरान-३ का वडाध्यक्ष आशाकुमार श्रेष्ठ पक्राउ

धरान : नेकपा एमालेबाट निर्वाचित धरान-३ का वडाध्यक्ष आशाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

धरानमा राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी कार्यक्रम अन्तर्गत वडाध्यक्ष उम्मेदवार घोषणा कार्यक्रम स्थलमा पुगेर मादक पदार्थ सेवन गरी उत्पात मच्चाएकाले उनलाई प्रहरीले पक्राउ गरेको हो ।

मातेर राप्रपाको कार्यक्रम स्थलमा पुगेका वडाध्यक्ष श्रेष्ठले आफ्नो इलाकामा राप्रपाले कार्यक्रम अनुमति नलिई गरेको भन्दै जथाभाबी बोल्न थालेपछि अवस्था असामान्य बन्न पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व क्षेत्रीय अध्यक्ष लक्ष्मण बस्नेतले जानकारी दिए । राप्रपाबाट वडा नं. ३ मा सीता मैनाली खड्गीलाई वडाध्यक्षमा उम्मेदवार घोषणा गर्ने चुनावी कार्यक्रम थियो । वडाध्यक्ष आएर अपशब्द बोल्दै कार्यक्रम बिथोलेपछि इलाका प्रहरी कार्यालयमा खबर गरेर उनलाई प्रहरीले पक्राउ गरेको बस्नेतले कपुरी न्युजलाई बताए ।

धरान-३ को तुर्के स्थित सरस्वती बाल अनाथ आश्रम नजिकै भइरहेको कार्यक्रममा वडाध्यक्षले कार्यक्रम बिथोलेकाले प्रहरीले नियन्त्रणमा लिनु परेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले बताए। वडाध्यक्ष ज्युको मापसे परीक्षण समेत भइसकेको र उनले मापसे गरेको पाईएको डिएसपी श्रेष्ठले बताए। वडाध्यक्ष श्रेष्ठलाई अहिले इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। यस विषयमा धरान-३ का वडा सदस्य विकास बेपालीलाई सोध्दा आफूलाई थाहै नभएको बताए। कार्यक्रम बिथोलेपछि कार्यक्रम स्थलमा वडाध्यक्ष विरुद्धमा नाराबाजी समेत भएको थियो।

राप्रपाका धरान नगर अध्यक्ष नवीन पराजुलीले वडाध्यक्षको हर्कत अनुशासनहीन र गैरप्रजातान्त्रिक भएको बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय