माओवादीसँगको गठबन्धन टुटेको कांग्रेसको घोषणा

स्थानीय चुनावमा तालमेल गर्ने सत्तारुढ दलहरुको सहमतिलाई तल्लो तहसम्म कार्यन्वयन गर्न समस्या भइरहेको छ । सत्तारुढ गठबन्धनका दलहरुबीच जिल्ला स्तरमा सहमति जुट्न नसकेपछि धेरैजसो ठाउँमा गठबन्धन टुटेको छ ।

लगातार पाँच दिनसम्म संखुवासभाको खाँदबारीमा चलेको सत्तारुढ गठबन्धनको बैठकले तालमेलको सहमति जुटाउन नसकेको हो ।

शुक्रबार बसेको बैठकमा पनि भागबण्डाको कुरा नमिलेपछि गठबन्धनका नेताहरु बिना निष्कर्ष उठेर हिँडेका एक नेताले बताए । माओवादी केन्द्रसँग गठबन्धन हुने सम्भावना सकिएको गठबन्धनका संयोजक एवम् कांग्रेस सभापति दीपक खड्काले बताए ।

माओवादीसँग अब गठबन्धन नहुन्े तर तर बाँकी दलहरुसँग छलफल हुने खड्काले बताए । माओवादी केन्द्रले आफ्नो मतभार भन्दा बढी भाग खोजेपछि तालमेलबारे सहमति जुट्न नसकेको उनले बताए ।

माओवादी केन्द्र बाहेक नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग भने जिल्ला स्तरमा छलफल हुने उनले बताए ।माओवादी केन्द्रका केन्द्रीय एवम् संखुवासभा इन्चार्ज राजेन्द्र कार्कीले पनि जिल्ला स्तरमा तालमेलको सहमति जुट्ने सम्भावना सकिएको बताए ।

कांग्रेसको अन्तरविरोधका कारणले तालमेलमा सहमति नजुटेको तर औपचारिक रुपमै गठबन्धन टुटेको निष्कर्षमा भने आफूहरु नपुगेको उनको भनाई छ ।

कांग्रेस नेताहरुले भने सहमति जुटाउन बसेको बैठकबाटै माओवादी केन्द्र गठबन्धन नरहने भन्दै निस्केकाले अब छलफल नहुने बताएका छन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् संखुवासभा इन्चार्ज हेमराज घिमिरेले भने अझै पनि पाँच दलीय गठबन्धन जोगिने बताउँछन् ।

गएको २०७४ को निर्वाचनमा संखुवासभामा कांग्रेसले दुई नगरपालिका सहित ५ स्थानीय तह जितेको छ । बाँकी स्थानीय तह नेकपा एमालेले जितेको छ । संखुवासभामा ५ नगरपालिका र ५ गाउँपालिका छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय