प्रचण्डले भने- माओवादी नफुटेको थियो भने एमाले कब्जा गर्न सक्थ्यौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी नफुटेको थियो भने एमाले कब्जा गर्न सकिने बताएका छन् ।

माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा बोल्दै प्रचण्डले एकतापश्चात नेकपाको दोस्रो बैठकमा एमालेको ठूलो जमातले आफूलाई नेता मानेपछि षड्यन्त्र सुरू भएको दाबी गरे ।

‘बैठकमा ८/१० जना छाडेर एमालेका सबै नेता अबको नेता प्रचण्ड हो भन्नेमा पुगे त्यसपछि ठूलो षड्यन्त्र सुरू भयो । तपाईं नै हो नेता भन्न थाले मलाई’, प्रचण्डले भने, ‘अहिले एमालेका नेता भन्छन्- केही समय छाडेको भए प्रचण्डले पार्टी खाइदिन्थ्यो नि !’

प्रचण्डले पूर्वमाओवादीहरू एक ठाउँ थिए भने एमालेसँग ४० प्रतिशत हैन ६० मै आफूहरू हुने बताए ।

‘परार एमालेसँग एकता गर्दा हामी नफुटेका थियौं भने ६०/४० हैन हामी ६० हुन्थ्यौ । समाजवादतिर लान सजिलो हुन्थ्यो ।’

एमालेका सबै नेता खराब नभएको उनको भनाइ थियो ।

‘चाबी नेतृत्वको हातमा हुन्छ त्यहाँ नेतृत्वले यति भ्रमदिएर राखेको छ । इमान्दार व्यक्तिहरूलाई बन्दी बनाइएको छ । तिनीहरूलाई हामीले साथ लिएर नेतृत्व गर्न जरुरी छ ‘, प्रचण्डले भने ।

जनयुद्धमा सबै एक ढिक्का भएर लडेको भन्दै उपलब्धीको रक्षाका लागि अब फेरि एक ठाउँ भएर पुन: भिड्ने दिन आएको प्रचण्डको भनाइ छ ।

मोहन वैद्य, बाबुराम, विल्लवतिर लक्षित गर्दै प्रचण्डले भने, ‘पार्टी विभाजन हुनु सही थिएन । पार्टी फुटाएर प्रतिक्रियावादीलाई फाइदा पुर्‍याउने मात्र काम भयो । तपाईंहरू जाँदा मलाई त्यत्रो चित्त दुखेको थिएन । तर, जो नेतृत्व गरेर जाने थिए तिनीहरूसँग मेरो रिजर्भेसन थियो । उनीहरू क्रान्तिको चरित्रका थिएनन् ।’

प्रचण्ड हुने सपना बोकेर जानेहरूलाई अहिले पार्टीमा फर्किन लाज भएको उनको भनाइ थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय