भरतपुरको मेयरमा गठबन्धनबाट रेणु नै उम्मेदवार, कांग्रेसको च्याप्टर क्लोज

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको तयारीमा रहेका सत्तारुढ गठबन्धनमा तालमेलको मापदण्डबारे सहमति जुटेसँगै भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रकै भागमा पर्ने निश्चित भएको छ ।

माओवादी केन्द्रले भरतपुरमा वर्तमान मेयर रेणु दाहाललाई नै पुनः उम्मेदवार बनाउन चाहेको छ । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् । भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने भन्दै चितवन कांग्रेसका नेता कार्यकर्ताहरुले विद्रोहको चेतावनी दिएपनि गठबन्धन नेतृत्वले त्यसलाई नजरअन्दाज गरेको छ ।

गठबन्धनका बैठकहरुमा नियमित सहभागी नेताहरुका अनुसार भरतपुर महानगरको मेयर माओवादीले नै राख्ने निश्चित भइसकेको छ । तल्लो तहमा जति नै विरोध भएपनि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भरतपुरमा रेणुलाई नै पुनः मेयर बनाउने सहमति बनिसकेको छ ।

भरतपुरको मेयर कांग्रेसले नपाउने निश्चित भइसक्यो । गठबन्धनले बनाएको मापदण्डले पनि यसअघि माओवादीले जितेको भरतपुरमा कांग्रेसको दाबी कमजोर भइसकेको छ । सभापतिले प्रचण्डलाई वचन दिइसक्नुभयो’, कांग्रेसका एक नेताले नेपाल प्रेससँग भने ।

ती नेताका अनुसार चितवनमा कांग्रेसको तर्फबाट हुनसक्ने विद्रोहलाई राजनीतिक रुपमा व्यवस्थापनको प्रयास भने गरिनेछ । ‘अहिले चितवनमा कांग्रेसले एउटा गाउँपालिकामात्रै जितेको छ । भरतपुरको मेयर माओवादीले पाएपनि चितवनमा कम्तिमा पाँच स्थानीय तहमा नेतृत्व र अन्यमा सह–नेतृत्व कांग्रेसले लिनेछ । त्यसबाट गठबन्धनको माहोल बन्न मद्दत पुग्नेछ’, ती नेताले भने ।

भतरपुरमा कांग्रेसबाट मेयर बन्न २५ जनाले आकांक्षा देखाएका छन् । कांग्रेस सभापति देउवाले केन्द्रीय समितिको बैठकमा चितवनमा एक्लै लडेर कांग्रेसले नजित्ने दाबी गरेका थिए । चुनावी तालमेल भएपनि भरतपुरको मेयर नछाड्न चितवन कांग्रेसका नेताहरुले सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पदाधिकारीलाई भेटेर माग गरेका थिए ।

निरन्तरको आग्रहका बावजुद भरतपुरमा कांग्रेसले मेयर नपाए अन्तरघात र बागी उम्मेदवारीको अधिक सम्भावना देखिन्छ । ‘यदि भरतपुरको मेयरमा कांग्रेसको च्याप्टर क्लोज भएको हो भने जसले यस्तो निर्णय लिए परिणामको भागीदार पनि उनीहरु नै हुनुपर्छ’, चितवन कांग्रेसका एक नेताले भने । ती नेताका अनुसार माओवादीले भरतपुरको मेयर पाए कांग्रेसको असन्तुष्टिले परिणाममा असर पार्नसक्छ । मंगलबार मात्रै भरतपुर महानगरका २९ वटा वडाका कांग्रेस सभापतिहरुले मेयर नपाए विद्रोह गर्ने लिखित चेतावनी दिइसकेका छन् ।

सभापति देउवाले निकटस्थ नेताहरुले चुनावी तालमेल नगर्दा पुनः वामएकता हुनसक्ने खतरा औंल्याउने गरेका छन् । स्थानीय निर्वाचनमा सुदृढ तालमेल भए त्यसले संसदीय निर्वाचनमा पनि लाभ पुग्ने र चुनावपछि पनि आफ्नै नेतृत्वमै सरकार बन्ने देउवाको बुझाइ छ । गत चैत १७ गते नै सत्ता गठबन्धनले स्थानीय निर्वाचनमा तालमेल गर्ने सैद्धान्तिक निर्णय गरेको थियो ।

गठबन्धनको मंगलबारको बैठकले वैशाख ५ गतेभित्र स्थानीय तहको तालमेलको खाका केन्द्रमा पठाउन गठबन्धनको तल्लो तहका संयन्त्रहरुलाई निर्देशन दिएको छ । महानगर र उपमहानगरको सिट बाँडफाँ६को निर्णय केन्द्रबाटै टुंगो लगाउने निर्णय गठबन्धनले गरिसकेको छ ।

६ वटा महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर पाउने निश्चित छ । भरतपुर माओवादीले पाउने निश्चित हुँदा नेकपा एकीकृत समाजवादीले पोखरा र जसपाले वीरगञ्जमा दाबी गरेका छन् ।

कांग्रेस नेतृत्व वीरगञ्जमा जसपालाई छाड्न तयार भएपनि पोखरामा मेयर छाड्न तयार देखिएको छैन । ‘पोखरामा कुरा मिलिसकेको छैन । सकभर समाजवादीलाई उपमेयर दिएर मनाउन खोज्छौ , नभए पोखरा समाजवादीकै भागमा पर्न पनि सक्छ’, कांग्रेसका एक नेता बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय