माओवादी र समाजवादीलाई एमालेको प्रस्ताव– कांग्रेसभन्दा बढी सिट दिन्छौँ, तालमेल गरौँ

काठमाडौं । नेकपा (एमाले)ले नेकपा (माओवादी केन्द्र) र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई मिलेर निर्वाचन लड्न प्रस्ताव गरेको छ । सुदूरपश्चिम प्रदेशका जिल्ला र पालिका नेतृत्वसँग एमालेले मिलेर जान प्रस्ताव अघि सारेको हो ।

संघ संसद्मा एकीकृत समाजवादीको अस्तित्व स्वीकार नगर्ने जनाएको एमालेले तल्लो तहमा भने निरन्तर सहकार्यको प्रस्ताव अघि सारिरहेको सो पार्टीका एक केन्द्रीय सदस्य बताउँछन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्यका अनुसार एमालेका जिल्ला नेताहरूले डोटी, अछाम, डडेलधुरा र कैलालीमा स्थानीय तह निर्वाचनमा मिलेर जान प्रस्ताव गरेका छन् ।

आसन्न निर्वाचनमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति भएको छ । सार्वजनिक रूपमा एमाले नेताहरूले माओवादी र एकीकृत समाजवादीका नेताको रुखो आलोचना गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीको राम्रो प्रभाव छ ।

कतिपय वडा र पालिकामा स्थानीय नेताहरूले सहकार्य गर्ने सम्बन्धमा छलफल समेत अगाडि बढाएको पाइएको छ ।

एमालेले सहकार्यको प्रस्ताव अघि सारे पनि आफूहरू पार्टी नेतृत्व र नीतिभन्दा बाहिर नजाने समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष हर्क सिंह बताउँछन् ।

तल्लो तहमा मिलेर जानुपर्छ भन्ने साथीहरूको दबाब छ । तर, हामी पार्टीको लाइनभन्दा बाहिर जाँदैनौँ । तर, गठबन्धनमा सम्मानजनक बाँडफाँड होस् भन्ने हामी चाहन्छौँ ।”

 

माओवादी केन्द्रसँग पनि मिलेर जान एमालेले प्रस्ताव गरेको छ । सबैजसो जिल्लाहरूमा मिलेर निर्वाचनमा जानका लागि प्रस्ताव आइरहेको माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले बताए ।

प्रदेश र जिल्ला नेतृत्व तहमा पनि अनौपचारिक रूपमा प्रस्ताव आइरहेको ती नेता बताउँछन् । ८८ स्थानीय तह रहेको सुदूरपश्चिममा ०७४ सालको निर्वाचनमा माओवादीले १० स्थानीय तह मात्रै जितेको थियो ।

नेपाली कांग्रेसभित्र गठबन्धनलाई लिएर व्यापक अन्तरविरोध रहेकाले एमालेसँग मिलेर जान माओवादी नेता–कार्यकर्ताहरू पनि कतिपय स्थानमा सकारात्मक देखिएको बताइएको छ ।

एमाले नेताले कांग्रेससँगको तालमेलमा पाउने सिटभन्दा आफूहरू बढी दिन तयार रहेको बताएको माओवादी र एकीकृत समाजवादीका नेताहरूको भनाइ छ ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्ट भने औपचारिक रूपमा एमाले नेतासँग निर्वाचन सहकार्यबारे कुनै छलफल नभएको बताउँछन् । तर, जिल्ला र पालिकास्तरमा भने एमाले नेतृत्वले मिलेर जान प्रस्ताव गरिरहेको उनी स्वीकार गर्छन् ।

नेता भट्टले भने, “प्रस्ताव आउनु आफैँमा नराम्रो कुरा होइन । तर, हामी पार्टी नीतिप्रति प्रतिबद्ध छौँ । दायाँबाँया हामीले सोचेका छैनौँ । केन्द्रकै लाइनअनुसार अगाडि बढ्छौँ । यसमा कुनै शंका गर्नुपर्ने ठाउँ छैन ।”

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय