महानगरमा तीन कांग्रेसलाई, माओवादी, एस र जसपालाई एक-एक प्रस्ताव !

काठमाडौं । पाँच दलीय गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिले स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटी टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई दिएको छ ।

आईतबार साँझ भएको छलफलपछि प्रतिवेदन तयार पारेर शीर्ष नेताहरुलाई प्रदान गर्ने सहमति समितिले गरेको हो । समितिको बैठकमा तल्ला तहबाट आएका सुझावमा छलफल गर्दै ती सुझाव र प्रतिवेदनहरू शीर्ष तहको बैठकमा पेश गर्ने निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचनका विषयमा तालमेलबारे निर्णय गरेर पठाउने म्याद पनि समितिले थप गरेको छ । आज बिहान ९ बजे शीर्ष तहमा बसेर निष्कर्षमा पुग्ने बैठकमा सहभागी नेताहरुले बताएका छन् । अधिकांश स्थानीय तहबाट प्रतिवेदन आएको नेताहरुले बताएका छन् । सोमबारको बैठकबाट कसरी अघि बढ्ने भन्ने ठोस निर्णय हुने छ ।

सरकारमा रहेको पाँच दलले स्थानीय निर्वाचनमा गठबन्धन कायम राख्न कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति बनाएको थियो । यसैबीच बैठकका क्रममा नेताहरुले फरक फरक प्रस्ताव राखेका थिए । जसमा मुख्य गरी ६ वटा महानगरमा काँग्रेसलाई तीन वटा महानगर, माओवादीलाई एउटा महानगर, नेकपा एसलाई एक महानगर र जसपालाई एक महानगर दिनु पर्ने प्रस्ताव नेताहरुले गरेका थिए ।

महानगर र उपमहानगरको उम्मेद्धार केन्द्रबाट टुंगो लगाउने भनिएको छ । जस अनुसार माओवादीको माग भरतपुर महानगरपालिकामा छ । नेकपा एसले काठमाण्डौँ र पोखरा मध्ये एक दिनु पर्ने माग राखेको छ भने जसपाका लागि बीरगञ्ज महानगरापालिका स्वाभाविक मानिएको छ ।

कांग्रेसका लागि काठमाण्डौँ वा पोखरा मध्य एक, ललितपुर र बिराटनगर महानगरपालिका प्रस्ताव गरिएको छ । तर काैग्रेसको तल्लो तहले खास गरी चितवनको भरतपुर महानगरपालिका छाड्न मानिरहेको छैन । भरतपुरको मेयर यस पटक काँग्रेसले पाउनु पर्ने भन्दै चितवन जिल्ला समितिका नेताहरु काठमाण्डौमा नेताहरुलाई भेटेर भर्खरै फर्किएका छन् ।

भरतपुर छाड्न माओवादी केन्द्र पनि तयार छैन । उसले पाँच वर्षमा राम्रो काम गरेर मेयरले लोकप्रियता हाँसिल गरेको, अन्त भन्दा पार्टीका लागि भरतपुरमै बढी जनमत रहेको लगायतका कारण देखाँउदै माओवादी भरतपुर पाउनै पर्ने अडानमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय