आफ्नै भाइलाई सांसद बनाएर प्रचण्डले नातावाद र कृपावादको चरम नमूना देखाए- ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताएका छन्।

अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अध्यक्ष ओलीले अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पारे पनि एउटा सोझो भ्यागुतो जस्तो गभर्नरलाई सरकारले कारबाही गरेर निर्लज्जता प्रकट गरेको बताए।

राजनीतिक प्रतिस्पर्धा भईरहेको छ। तर प्रतिस्पर्धा कस्तो भईरहेको छ भने अस्वस्थ। हिजोमात्रै पनि हामीले देख्यौं। हिजो थुतुनाभरी रौं भएको मुसाले धान खायो। एउटै रौं नभएको भ्यागुतोलाई कारबाही गर्‍यो’, उनले भने, ‘तपाईँहरुले थाहा पाउनु भयो होला–धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन् नि। त्यसमा पनि अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पार्‍यो। अनि एउटा सोझो भ्यागुतोलाई लगेर कारबाही गर्ने उखान जस्तै गरेर राष्ट्र बैंकको गभर्नरलाई हिजो कारबाही गर्‍यो।’

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नरलाई, अर्थतन्त्र बुझेका मान्छे अधिकारीलाई सरकारले गभर्नरबाट निलम्बन गरेर बलिको बोको बनाउने काम गरेको आरोप समेत लगाए।

उनलाई निलम्बन गरेर सरकारले माओवादी केन्द्रको भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाएको भन्दै ओलीले आपत्ति पनि जनाए।

देश अत्यन्तै निर्लज्ज व्यक्तिको हातमा परेको छ। देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्र सेवक, एउटा अर्थवीद्, अर्थशास्त्री, राष्ट्र बैंकबाटै डेपुटी गभर्नरसमेत भएर हटेका र अर्थतन्त्र बुझेका मान्छेलाई बनाईयो–बलिको बोको। उनलाई निलम्बन गरियो’, उनले अगाडि भने, ‘त्यसपछि माओवादी केन्द्रले नियुक्त गरेको, माओवादी केन्द्र निकट भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा एउटा छानबिन समिति बनायो। माओवादी केन्द्र भनेर जानिएको मान्छे अहिले हामीलाई थाहा छ, न्यायालयको अवस्था। म केही धेरै भन्न चाहन्नँ।’

त्यसैगरी अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्वमा ज्यान धरापमा पारेर हिँडेकालाई अनादर र उपेक्षा गर्दै आफ्नै भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा सदस्य बनाउने काम गरेर नातावाद र कृपावादको चरम नमूना प्रस्तुत गरेको दाबी गरे।

उनले क्रान्तिकारी हुँ भन्नेले आफू र आफन्तबाहेक अरुलाई नहेर्ने गरेको यो पछिल्लो उदाहरण भएको अध्यक्ष ओलीको भनाई थियो।

नातावाद, कृपावादको यत्रो बहस चलिराख्या छ, देशमा। नातावाद भो, कृपाबाद हो। अचाक्ली भो। क्रान्तिकारी हुँ भन्ने मान्छेले आफ्नोबाहेक कोही नियुक्ति गर्दैनन् भन्ने छँदै थियो। हिजो पुष्पकमल दाहालका भाइ नारायणकमल दाहाल, हिजो एउटा खास गुरिल्ला हुनुहुन्थ्यो। उहाँलाई राष्ट्रियसभामा लगियो’, उनले भने, ‘यत्रो बिघ्न घाईते छन्। सहिद परिवार छन्। आन्दोलन गरेका मान्छे छन्, शरीरमा गोली लिएर हिँडीरहेका व्यक्ति छन्। जनयुद्धको नाममा ज्यान हत्केलामा राखेर मौकाले बाँचेका मान्छे छन्। ती सबैलाई पन्छाएर, आफ्नै भाइलाई राष्ट्रियसभा सदस्य बनाउने बुद्धि, मति, क्रियाकलाप हिजो फेरि भयो।’

अध्यक्ष ओलीले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने बेला आफ्नो पार्टीलाई थर्काएको आरोप समेत लगाए।

सत्तापक्षसँग मात्रै परामर्श गरेर जारी गरिएको निर्वाचन आचारसंहिता हस्ताक्षर गर्ने बेला आयोगले आफ्नो पार्टीका प्रतिनिधिलाई हस्ताक्षर नगरे नगर्नुस् भनेर थर्काएको उनको गुनासो थियो।

‘२०४८ सालदेखि हामी लगातार निर्वाचन लडिराखेका छौं। राजनीतिक दलसँग परामर्श नगरिकन सत्तापक्षीय दल र सरकारसँग मात्रै परामर्श गरेर आचारसंहिता पहिलोपल्ट नेपालमा जारी भयो’, उनले भने, ‘जो सबैले मान्नुपर्छ। तर सल्लाहचाँही सत्तापक्षसँग मात्रै हुन्छ। हामीसँग सल्लाह भएन।’

नेपालको इतिहासमा पहिलो पटक निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपक्ष दलसँग परामर्श नगरी जारी गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। निर्वाचन आयोगले अनुरोध गरेर निर्वाचन सम्पन्न गर्नुपर्नेमा कारबाहीको डण्डा देखाउने गरेको अध्यक्ष ओलीले जिकिर गरे।

‘हाम्रो प्रतिनिधिलाई निर्वाचन आयोगले पढ्न पनि दिइएन, बोल्न पनि दिइएन। अनि कसरी सही गर्ने यो ठिक छ भनेर भन्दा आयोगले तपाईहरुले सही गरे गर्नुस् नगरे नगर्नुस केही छैन। मन लागे गर्नुस् नलागे नगर्नुस हामी अगाडि बढ्छौं। जसले मान्दैन उसलाई कारबाही गर्छौ भनेर भन्यो’, उनले अगाडि भने, ‘जसले अनुरोध गर्थ्यो। कानुन बमोजिम कारबाही गरे भैगो। तर जारी गर्दाखेरिनै उसले कारबाहीको डण्डा देखाएर जारी गर्‍यो।’

उनले निर्वाचन आयोगको काम चुनाव गराउने भन्दै कसैलाई थर्काउने काम उसको नभएको जिकिर गरे।

‘आचारसंहिता नमान्नेलाई जो सुकैलाई कारबाही गरिन्छ भनेर थर्कायो त निर्वाचन आयोगले। निर्वाचन आयोग निर्वाचन गराउने चिज हो। थर्काउने चिज त होईन् तर थर्कायो। किनभने उसले कसैसँग परामर्श सत्ता बाहिरका राजनीतिक दलहरुसँग परामर्श गरेन’, उनले भने, ‘देशको प्रमुख राजनीतिक दलसँग परामर्श गर्न आवश्यक ठानेन। बरू तपाईहरुसँग परामर्श गर्न आवश्यक छैन भनेर थर्कायो। तर पनि हामी निर्वाचन आचारसंहिता मान्छौं।’

अध्यक्ष ओलीले आफ्नो दलसँग परामर्श नगरी निर्वाचन आचारसंहिता जारी भए पनि त्यसको पूर्ण पालना गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय