नेकपा भित्रका नेताहरुको लडाईले सरकार फेल भईसक्यो डा.भण्डारी ।

बुधवार, मंसिर १७, २०७७

गुल्मी । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेकपा भित्र नेताहरुको लडाई र बढ्दो भ्रष्टाचारका कारण ओली सरकार फेल भएको आरोप लगाउनुभएको छ। गुल्मीको कार्यक्रममा आएका नेता भण्डारीले जनताले धेरै आशा र विश्वासका साथ यो सरकारलाई बहुमत दिए, तर सबै कुराबाट सरकार फेल भइसकेको आरोप लगाउनुभएको छ। उहाँले नेकपाका अध्यक्षहरु ओली र प्रचण्डहरुको गुट उपगुटको विवाद र सत्ताको मजा लिने र संगठन गर्नेहरु बीचको विवादले गर्दा सरकार नै असफल भएको बताउनुभएको छ । डा. भण्डारीले भन्नुभयो,‘अब यो सरकार असफल भयो, अब ओली सरकारबाट आशा गर्न सकिदैन ।’

उहाँले नेकपाको दुई तिहाईको सरकारले जनताका भावनालाई नबुझेर एक आपसमा आफुहरुका नेताहरु बीच लडाई चली रहेको अवस्थाले गर्दा पनि नेकपाबाट आमजनताको भलो नहुने देखेपछि नेकपाका कार्यकर्ताहरुले अहिले देश व्यापीरुपमा पार्टी परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गर्ने लहर बढेको बताउनुभयो । उहाँले नेकपाको सरकारले देश विकास गर्नुको साटो नेता र अगुवा कार्यकर्ता पाल्ने काम भएको र मुलुकमा भ्रष्टाचार मौलाएको, विदेशी हस्तक्षेप बढेको आरोप लगाउनुभयो ।

नेता भण्डारीले भन्नुभयो, ‘वर्तमान प्रधानमन्त्री केपी नेतृत्वको बहुमत प्राप्त सरकारका हरेक काम कारवाही जनविरोधी भएको र सिंगो सरकार र पार्टीका नेताहरु भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाउनुभयो । नेपाली काँग्रेस गुल्मीका सभाापति भूवन प्रसाद श्रेष्ठले गुल्मी जिल्लामा नेकपाले जितेका स्थानीयतहहरुमा भएका अनियमितता र नातावाद कृपावादका कारण जनता वाक्क भएर पार्टी परित्याग गरि काँग्रेसको अभियानमा लागेको धारणा व्यक्त गर्दै, यो सरकारले जनता र मुलुकको हित गर्न नसक्ने बताउनुभयो ।

नेपाली काँगे्रस गुल्मीका उपसभापति विष्णु बलालले वर्तमान सरकार जनविरोधी र कानूनी राज्यको उपहास गर्ने खालको भएका कारण देशी तथा विदेशी तत्वको इशारामा चल्न थालेको आरोप लगाउनुभयो । काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले, अब गाउँ गाउँबाट काँग्रेस प्रति जनताको आस्था र विश्वास बढ्दै गएको बताउँदै गुल्मी काँग्रेसले जिल्लामा रहेका क्षेत्रको विकासमा जोड दिने कार्ययोजनाका साथ अगाडि बढेको बताउनुभयो ।

नेपाली काँग्रेस गुल्मी क्षेत्र १ प्रदेश क का सभापति तथा सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले देश, जनता र लोकतन्त्र प्रतिको आस्था अनि विश्वासको मुख्य आधार नै काँग्रेस भएको बताउँदै विकासका हरेक क्रियाकलापलाई काँग्रेसले सधै सिरोधार्य गर्ने धारणा व्यक्त गर्नुभयो । नेकपा परित्याग गरेर नेकाँ प्रवेश गरेका भूपाल ज्ञवालीले नेकपाले बहुमतको सरकार भएर पनि आमनेपालीका भावनालाई बुझ्न नसकेका कारण धेरैले पार्टी परित्याग गरेको बताउनुभयो । काँग्रेसले लोकतन्त्रको रक्षाका लागि सदैव अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभयो ।

नेपाली काँग्रेस छत्रकोट गापा वडा ४ का पार्टी सभापति जितवहादुर पौडेलको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँगेस छत्रकोटका नेता तथा छाया सरकार प्रमुख अनन्त पौडेलले देश विकासका लागि काँग्रेस बाहेक अरु पार्टी नभएको बताउनुभयो । विद्यार्थी नेता मोती भण्डारीले, अनियमितताका कारण सरकार जनविरोधी भएको आरोप लगाउनुभयो । स्थानीय अगुवा कार्यकर्ता भेषराज कंडेलको स्वागतमा शुरु भएको कार्यक्रमको सञ्चालन युवा नेता कृष्ण भण्डारीले गर्नुभएको थियो ।

वर्तमान सरकारका क्रियाकलापले जनताको हित नगर्ने भन्दै गुल्मी दिगाममा दर्जनौ घर परिवारबाट नेकपा परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर बढेको छ । गाउँको विकास र जनताका इच्छा आकांंंँँक्षाप्रति स्थानीय, प्रदेश र केन्द्र सरकारले वास्ता नगरेको भन्दै त्यहाँका महिला, युवाहरुको बथान नै काँग्रेसमा प्रवेश गरेको छ ।

छत्रकोट ४ का अगुवा कृषक सेवा निर्वत अधिकृत भूपाल ज्ञवालीको नेतृत्वमा ५० भन्दा धेरै दीगामका स्थानीय वासिन्दाको एक हुलले बुधवार पार्टी प्रवेश गरेको जिल्लाकै ठूलो कार्यक्रम हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय