प्रचण्ड कांग्रेसलाई जिताउन झन्डा बोकेर भोट माग्न हिँड्ने

काठमाडौंं – सत्तारुढ गठबन्धनले आगामी तीन तहकोे निर्वाचनमा तालमेल गरेर जाने निर्णयसँगै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कसरी भागबन्डा लगाउलान् भन्ने सर्वत्र चासोको विषय बनेको छ ।

त्यसमा पनि चितवनतिर सबैको आँखा परेको छ । अघिल्लो निर्वाचनमा भरतपुर महानगरको प्रमुख र चितवन ३ मा माओवादी केन्द्रले जितेको थियो ।

माओवादीले स्थानीय तहको निर्वाचनमा कांग्रेससँग तालमेल गरेर भरतपुर र प्रतिनिधिसभाको निर्वाचनमा एमालेसँग वाम एकता गरेर माओवादीले चितवन ३ मा संघीय सांसद हात पारेको थियो ।

तर, यसपटक भने कांग्रेसले कुनै पनि हालतमा दुईमध्ये एक नछाड्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकामा दाबी गर्दै नेपाली कांग्रेस चितवनका नेताहरुले पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउने भएका छन् ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालसहित नेताहरुको टोली बुधबार डेलिगेसनका लागि काठमाडौं आउँदै छन् ।यसअघिको स्थानीय चुनावमा कांग्रेसको समर्थनमा भरतपुर उपमहानगरपालिकाको मेयरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल विजयी भएकी थिइन् ।

यसपटक पनि माओवादीले नै मेयरको दाबी गर्दै आएको छ । तर कांग्रेसले यसपटक आफूहरुलाई सघाउनुपर्ने धारणा राख्दै आएको छ । कांग्रेस आाफ्नो अडानमा टसमस नभएपछि नयाँ विकल्प तयार पारिएको छ ।

जसअनुसार भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसलाई दिएर चितवन ३ मा प्रचण्डलाई संघीय सांसदमा छाड्ने गरी गृहकार्य अघि बढाइएको स्रोतले जनाएको छ ।

भरतपुर महानगरकी मेयर रेणु दाहाललाई प्रदेश सभामा पठाउने तयारी माओवादी केन्द्रले गरेको बुझिएको छ ।

यसरी अगाडि बढेमा भरतपुर महानगरमा कांग्रेसले मेयर जित्ने, प्रदेश सांसदमा रेणु दाहाल विजयी हुने र चितवन ३ मा प्रचण्ड संघीय सांसद निश्चित हुने बुझाई कांग्रेस र माओवादीको छ ।

यसरी तालमेल भएमा प्रचण्डले भरतपुरको मेयरमा कांग्रेसलाई जिताउन झन्डा बोकेर भोट माग्न हिँड्ने कांग्रेस–माओवादी केन्द्रका जिल्ला नेताहरूको भनाइ छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय