गठबन्धनले जित्ने देखेर एमालेका नेता बरबराउन थाले : माधव नेपाल

रुपन्देही । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारले जित्ने अवस्था देखेर नेकपा एमालेका नेताहरू बरबराउन थालेको टिप्पणी गरेका छन् ।

पाँच दलीय गठबन्धनको निरन्तर वार्ता र छलफल भइरहेको बताउँदै सबै दलहरू गठबन्धनप्रति सकारात्मक रहेको उनले बताए । मंगलबार कपिलवस्तुको शिवराज नगरपालिका वडा नं २ मा भएको प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीप्रति जनताको आकर्षण देखेर विपक्षी दल अत्तालिएको दाबी गरे ।

गत निर्वाचनमा जनताले विश्वास गरेर जिताएको पार्टीले संविधान मास्ने तथा हावादारी गफ गरेर जनतालाई अलमलाएको आरोप उनले लगाए । नेकपा एमालेको सूर्यमा ग्रहण लागेको बताउँदै अब कलमलाई विश्वास गरेर मतदान गर्न उनको अपिल थियो ।

नेपालले भने, ‘एकीकृत समाजवादी पार्टी समाजवादको दिशामा अगाडि बढेको छ । न्याय, सत्य र परिवर्तनको लागि काम गरेकाले ६ महिनाअघि गठन गरेको पार्टीमा अहिले जनताको लहर लागेको छ, मेयर र वडा अध्यक्ष दैनिकरूपमा पार्टी प्रवेश गरिरहेको सबैले देखेका छौं ।’

आफूले एक सय रूपैयाँबाट सुरू गरेको वृद्ध भत्ता अब मासिक ५ हजार पुर्‍याउने उनले आश्वासन दिए । नेपालले भने, ‘कतिपय नक्कली व्यक्तिले वृद्धा भत्ता आफूले सुरू गरेको भनेर जनतामाझ अफवाह फैलाएका छन्, इतिहास सबैलाई थाहा छ ।’

नेता नेपालले लुम्बिनीसँग जोडेर कपिलवस्तुलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताउँदै पर्यटक भित्रिएमा नागरिकहरू आत्मनिर्भर बन्ने बताए । उनले कपिलवस्तुका प्रभावशाली नेता डा. मन्जुर खाँलाई प्रवेश गराउँदै अध्यक्ष नेपालले पाटीलाई थप मजवुद बनाउन सबै लाग्नुपर्ने बताए ।

कार्यक्रममा एकीकृत समाजवादीमा सचिव भागवत बिश्वासीले एमालेले जनतालाई घात गरेको बताए । केपी ओलीले संविधान मिचेर संसद् विघटन गरेर जनताको मतलाई अपमान गरेको उनले आरोप लगाए । स्थानीय तहको निर्वाचनमा गठबन्धन बलियो भएकोले एमाले आत्तिएको उनको भनाइ थियो ।

लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले केपी ओलीको प्रवृत्तिलाई जनताले अस्वीकार गरेको बताउँदै अंहकार र प्रतिगमनले देश र जनताको पक्षमा काम गर्न नसक्ने धारणा राखेका थिए ।

कार्यक्रममा २०६४ सालको संविधान सभा निर्वाचनमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट निर्वाचन क्षेत्र नं ५ बाट झिनो मताअन्तरले पराजित डा मन्जुर खाँ, प्रभावशाली नेता अब्दुल हकलगायतको नेताहरू एकीकृत समाजवादी प्रवेश गरेका छन् । डा. मन्जुर प्रवेश गरेसँगै हाल रहेको कपिलवस्तुको क्षेत्र ३ मा एकीकृत समाजवादी थप बलियो बनेको छ ।

उनको प्रवेशले आगामी स्थानीय तहको निर्वाचनमा पनि प्रभाव पर्ने बुझिएको छ । केही दिनअघि सो क्षेत्रका प्रभावशाली नेता तथा पूर्वमन्त्री बृजेश गुप्ता, धर्मबहादुर लाल श्रीवास्तव तथा पुराना नेता मंगलप्रसाद गुप्ता, लगायतको ठूलो समूह एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय