नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सत्तारूढ पाँच दलीय गठबन्धनले एकपछि अर्को जिम्मेवारी सुम्पेको छ।

मंगलबार बालुवाटारमा बसेको गठबन्धन बैठकले वैशाखमा हुने स्थानीय चुनावका लागि तयारी तथा अनुगमन समिति संयोजकको जिम्मेवारी पौडेललाई दिने निर्णय गरेको हो।

जिल्ला-जिल्लामा सत्तारूढ दलहरूबीच स्थानीय चुनावमा तालमेल गरेर जाने निर्णय भइरहेका छन्। चुनावी तालमेल र मोडालिटी टुंगो लगाउन सत्तारूढ पाँच दलका प्रतिनिधि रहने समिति गठन गरिएको हो।

समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा र सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की छन्। सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रबाट नेता वर्षमान पुन र देवप्रसाद गुरूङ सदस्य छन्।

नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र नेता विजय पौडेल सदस्य छन् भने जनता समाजवादी दलबाट वरिष्ठ नेता अशोक राई र मन्त्रीसमेत रहेकी नेता रेणु यादव सदस्य छन्। राष्ट्रिय जनमोर्चाबाट भने सचिव हिमाल पुरी सदस्य छन्।

यो समितिले बुधबारदेखि काम सुरू गर्नेछ।

त्यसबेला आलोपालोमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको संयोजक फेरिने भने पनि अहिलेसम्म पौडेल नै संयोजक छन्। अरू दलले पनि संयोजक पाउनुपर्छ भनेर सार्वजनिक रूपमा दाबी गरेका छैनन्।

पौडेल नेतृत्वको समन्वय समितिलाई थाती राखेर आज फेरि सत्ता गठबन्धनले पौडेलकै नेतृत्वमा अर्को समिति गठन गरेको हो। यो समितिमा पहिलेजस्तो सत्तारूढ पार्टीका शीर्ष नेता बसेका छैनन्, दोस्रो तहका नेताहरूलाई राखिएको छ।

पछिल्लो समय सत्ता गठबन्धन र पार्टीका कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पौडेललाई साथसाथै लैजान खोजेका छन्।

उनले पौडेललाई पार्टीमा दोस्रो बरियता दिएका थिए। गत मंसिरमा भएको कांग्रेसको १४ औं महाधिवेशनमा पौडेल सभापति पदमा उम्मेदवार बनेनन्, उनी कतैतिर पनि नलाग्ने भन्दै निर्वाचन अवधिभर मौन बसेका थिए।

पौडेल त्यसबेला मौन बसेर देउवालाई नै सहयोग पुर्‍याइदिएको आरोप नेता शेखर कोइराला पक्षले लगाएको थियो।

१४ औं महाधिवेशनमा देउवा र कोइराला सभापति पदमा प्रतिस्पर्धा गरेका थिए। देउवाले आफूसँग पराजित (४० प्रतिशत मत ल्याएका) कोइरालालाई भन्दा महाधिवेशनमा मौन बसेर भोट हाल्न पनि नगएका पौडेललाई साथसाथै लैजाँदै महत्वपूर्ण भूमिका दिइरहेका छन्।

तर पौडेल भने आफू अहिले पनि पार्टीभित्र प्रतिपक्षी रहेको दाबी गर्छन्। बोहोराटारमा चैत ११ मा भएको आफूनिकट नेताहरूको भेलामा उनले पार्टीभित्र प्रतिपक्षी नेताको भूमिकामा आफू रहेको दाबी गरेका थिए।

सभापति देउवाले पार्टीभित्र हुने गतिविधिमा उपसभापति पूर्णबहादुर खड्का र सत्ता गठबन्धनमा भने वरिष्ठ नेता पौडेललाई अघि सार्दै आएका छन्।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले समन्वय गर्न सक्ने र ‘सिनियर’ नेता भएकोले पौडेललाई जिम्मेवारी दिइएको बताए। ‘उहाँ सिनियर नेता हो, सबै दलहरूसँग समन्वय पनि गर्न सक्नुहुन्छ,’ उनले भने।

चैत १५ मा सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले स्थानीय आवश्यकता र औचित्यका आधारमा सत्तारूढ गठबन्धनभित्र रहेका दलहरूसँग स्थानीय चुनावमा गठबन्धन गर्ने निर्णय गरेको थियो।

त्यसको दुई दिनपछि बालुवाटारमा बसेको गठबन्धन बैठकले स्थानीय चुनावमा तालमेल गर्ने औपचारिक निर्णय गरेको थियो।

आज बसेको सत्तागठबन्धन बैठकले निर्वाचन तयारी तथा अनुगमन समितिमा पौडेललाई संयोजक बनाएको छ। पार्टीभित्र र बाहिर पनि चुनावी तालमेललगायत चुनौतीपूर्ण काम गर्ने जिम्मेवारी पाएका पौडेलसँग गरिएको संक्षिप्त कुराकानी:

तपाईंको नेतृत्वमा गठबन्धनले चुनाव तयारी समिति बनाएछ, यो समितिले कहिलेदेखि काम सुरू गर्छ?

मेरो नेतृत्वमा सत्ता गठबन्धनमा रहेका दलहरूका प्रतिनिधि रहने समिति बनेको छ। यो समितिले भोलि (बुधबार) देखि नै आफ्नो काम अगाडि बढाउँछ। भोलि दिउँसो २ बजे बालुवाटारमा समितिको पहिलो बैठक राखेका छौं।

बैठकमा चुनावी तालमेलका मोडालिटीबारे छलफल गर्ने हो?

अहिले त एजेन्डाबारे खासै कुरा भएको छैन। भोलि बैठक बसेर कुराकानी अगाडि बढाउँला। पहिलो कुरा त देशभरको रिपोर्ट लिन्छौं- कुन नगरपालिका, गाउँपालिकामा कसको पोजिसन के छ भन्ने। त्यसपछि थप कुरा अगाडि बढ्छ।

कांग्रेसले स्थानीय आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने निर्णय गरेको छ, कांग्रेसबाटै यो समितिको नेतृत्व लिँदा सबै ठाउँमा गठबन्धन गर्नुपर्ने दबाब आउला नि?

हुनपर्ने ठाउँमा गठबन्धन भइहाल्छ तर संख्या नै नभएका ठाउँमा त कसरी गठबन्धन होला र! दलहरूको अवस्था हेरेर हुन्छ।

 

सेयर गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here