ओलीले जनता र राष्ट्रसँग झुठो बोलेर गद्दारी गरेको भन्दै माफी माग्नुपर्छ : डा. भीम रावल

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनता र राष्ट्रसँग झुठो बोलेर गद्दारी गरेको भन्दै माफी माग्नुपर्ने बताएका हुन् ।

नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा उनले संविधानको कुनै पनि धाराले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको पनि उल्लेख गरे । उनले संविधानको धारा ७६ ले संसद विघटन गर्ने अधिकार नदिएको स्पष्ट पारे ।

उनले ओलीको स्वेच्छाचारी कामले गर्दा मुलुकमा जनताले विद्रोह गर्ने स्थिति आउनसक्ने समेत औंल्याएका छन् । डा. रावलले आफैंले बनाएको नेपालको संविधानमाथि प्रहार गरेर यो राजनीतिक कुरा हो भन्दै सर्वोच्च अदालतमा जवाफ पठाउनु नौलो कुरा नभएको भन्दै संविधानकै उल्लंघन गर्नेलाई जनताले नछाड्ने समेत बताएका छन् ।

‘संविधानसभाको पहिलो कार्यकाल झापाबाट हार्नुभयो । दोस्रो कार्यकाल आउनु भयो । त्यतिबेला अहिले केपीजी निस्किएजस्तै कोही प्रधानमन्त्री निस्किन सक्छ भनेर संसद विघटन गर्न नपाउने गरी संविधानमा लेखिएको थियो । तर त्यसलाई नमानेपछि त के भन्ने ।’

उनले भने, ‘संसदमा कुन कानुन असफल भयो ? एमएमसीमा नेपालको कानुनभन्दा माथि हुने र अमेरिकाको हस्तक्षेप हुने कुरा हामीले अस्वीकार गर्यौं, नेपालको नक्सा जारी गर्न पटक पटक दवाव दिँदा मात्र गरिएको तर पाठ्यक्रममा रोकेपछि नै उहाँको राष्ट्रियता झल्किएको स्पष्टै छ ।’

उनले आफूबाहेक अरु कोही पनि छैनन् भन्ने तानाशाह प्रवृत्ति ओलीमा जन्मिएकोबारेमा भन्छन्, ‘आफू प्रधानमन्त्रीबाट हट्ने अवस्था आउनासाथ संसद विघटन गर्न मिल्छ ? उहाँका गुटका बाहेक कसैले पनि प्रधानमन्त्रीले राम्रो गरेको छ भनेका छैनन् । हामी शक्ति पृथकीकरणका कुरा गर्छौ भने यो कदम गलत छ । कुकृत्य गर्ने हो भने जनताले विद्रोह गर्नुपर्ने स्थिति आउँछ ।’

डा. रावलले भने, ‘प्रचण्ड–माधव नेपाललाई क्षमा दिने होइन उहाँले राष्ट्रसँग माफी माग्नुपर्छ । माफी मागे हामीले पनि माफी दिन सक्छौं । रुपान्तरित भएका खण्डमा केन्द्रीय सदस्यबाट हटाएका छैनौं हामीले स्वागत गर्न सक्छौं ।’

उनले प्रचण्ड–नेपालको नेकपा नै आधिकारिक भएको स्पष्ट पार्दै भनेका छन्, ‘३१५ जना केन्द्रीय सदस्यको हस्ताक्षरले गरेको निर्णय नै आधिकारिक हो । बहुमत नभए पनि मै पार्टी हुँ भन्ने नै निरंकुश चरित्र हो । विडम्बना हामीले कम्युनिष्ट पार्टीमा यस्तो नेता जन्मायौं ।’

‘यदि देशमा भएका संवैधानिक निकायमा कानून रहेन भन्ने भयो भने त सूर्य चिन्ह नपाइएला होइन भने नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाई हुँदा पनि हाम्रो पार्टीलाई आधिकारिकता दिइएन भने अब अर्को संघर्ष गर्नुको विकल्प हुँदैन ।’

ओली सरकारको बेथितिप्रति उनले भने, ‘नेपालमा कोरोना संक्रमणको यत्रो आपत्ति भएका बेलामा ३०–३२ अर्बको थप बोझमा देशलाई धेकेलेर एकदम गैरजिम्मेवार काम गर्ने, जनताको संवेदनशीलता र अवस्थालाई पनि ध्यान नदिने, अब हामी त्यही बाटोमा जान खोजेको हो भने त इतिहासले जनताले त्यसलाई दण्डित गर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय