सबैलाई प्रधानमन्त्री बनाउँछु, तर संविधान भाँडिनु हुँदैन – प्रचण्ड

गौशला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयन र देश बचाउन लागिपर्ने सबैलाई प्रधानमन्त्री बनाउन तयार रहेको बताएका छन् ।

आइतबार महोत्तरीको गौशलामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले जनताले पाएको अधिकार खोसिनबाट जोगाउनुपर्ने बताउँदै यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीले त्याग गरेर भएपनि देश बचाउने, त्याग गरेर भए पनि शान्ति बचाउने, त्याग गरेर भए पनि संविधान कार्यान्वयनतिर लैजाने । बरु कतिलाई प्रधानमन्त्री बनाउनुपर्छ म जतिलाई बनाउन पनि तयार । संविधान भाँडिनु भएन, जनताले पाएको अधिकार खोसिनु भएन भनेर लडिराखेका छौँ । अहिले पनि हामी लडाइमा छौँ ।’

आगामी निर्वाचन माओवादीका लागि सामान्य नहुने पनि प्रचण्डले बताएका छन् । उनका अनुसार अन्य दललाई यो निर्वाचन सामान्य होला तर माओवादीलाई सामान्य होइन ।

‘आउने निर्वाचन अरुका लागि सामान्य निर्वाचन हुन्छ तर, हाम्रो लागि सामान्य निर्वाचन होइन । हामीलाई नेपालका आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम, महिला सबैले पाएको हक अधिकार खोसिएको टुलुटुलु हेर्ने कि पहिचान अधिकार लिन बल्न गर्ने ? कि प्रतिक्रियावादी, पहिचानविरोधी फटाहाहरुलाई भोट हालेर देश द्वन्द्वमा लैजाने ? त्यसकारण सशस्त्र द्वन्द्वका सहीद, घाइते, बेपत्ता सबै सबैलाई जोगाउने आन्दोलन हो,’ उनले भने ।

आफू दोस्रोपटक प्रधानमन्त्री भएपछि ऊर्जा मन्त्रालय माओवादीले लिएपछि कुलमान घिसिंङलाई नेपाल विद्युत प्र्राधिकरणको कार्यकारी निर्देशक बनाएपछि लोडसेडिङ मुक्त गरेको पनि अध्यक्ष प्रचण्डले बताए । उनका अनुसार गरे किन हुन सक्दैन भन्ने माओवादीले गरेर देखाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय