गठबन्धन तोड्ने ओलीको अर्को प्रयास : माओवादीलाई ठुलो भाग सबैकुरामा ५० प्रतिशत नै दिन तयार

सत्ता गठबन्धन टुटाउने अनेक प्रयत्न गरिरहेका एमाले अध्यक्ष केपी ओली फेरी पनि माओवादी केन्द्रलाई तान्ने रणनीतिमा लागेका छन् । माओवादीलाई केहि भाग दिएर ल्याउने योजना सहित एमालेका दोस्रो तहका केही नेताहरूलाई निरन्तर खटाइरहेको खुलेको छ ।

एमालेका नेताहरूसँग नागातर वार्ता भैरहेकोबारे माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत बताएका थिए । पहिले भन्दा बढी भाग दिएर भएपनि चुनावमा गठबन्धनलाई फुटाउने ओलीको पुरानो रणनीति अनुसार माओवादी र एमालेबीच वार्ता भैरहेको हो ।

अहिले पनि एमाले र माओवादीका दोस्रो तहका नेताहरू निरन्तर संवादमा रहेका छन् । सत्ता गठबन्धनले मिलेर चुनाव लड्ने निर्णय गरेपछि चर्को दवावमा रहेका ओलीले कम्प्रोमाइज गरेरै भएपनि गठबन्धन तोड्न सके चुनावी परिणाम केहि सकारात्मक आउने आँकलन गरेका छन् ।

केहि समय अघि एक कार्यक्रममा ओलीले ४० प्रतिशत दियोभने माओवादी आफूसँग आइहाल्ने बताएका उनले शुक्रबार साँझ एक कार्यक्रममा आफूहरूले चाहेको खण्डमा गठबन्धन भर्खरै टुट्ने भन्दै यसको संकेत गरेका थिए ।

ओलीले आफूहरूले चाहँदासम्म मात्र सत्तारूढ गठबन्धन रहने दाबी गरेका छन् । पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल गरेर जाने निर्णय भएको अर्को दिन एमाले अध्यक्ष ओलीले गठबन्धन भत्काउन धेरै मिहिनेत गर्नु नपर्नेसमेत जिकिर गरे ।

‘अहिले हेर्नुस् त, बिहान–बेलुकै बालुवाटार टुप्लुक–टुप्लुक पुगेका छन् । ‘यो गठबन्धन नटुटाऊँ, गठबन्धन बचाऊँ है’ भनिरहेका छन् । यो गठबन्धन तबसम्म रहन्छ, जबसम्म हामी यसलाई रहन दिन्छौँ,’ शुक्रबार अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम बैठक तथा विस्तारित भेलालाई सम्बोधन गर्दै ओलीको दाबी थियो, ‘हामीले धेरै केही गर्नुपर्दैन, छ्यास्स हावा खोलिदिएपछि जान्छ । चारवटा चक्का फुकाल्नुपर्दैन, इन्जिन बन्द गर्नुपर्दैन ।’

माओवादीप्रति नरम समाजवादीप्रति कडा

एकीकृत समाजवादीसँग सहकार्य गरेको भन्दै ओलीले कांग्रेसको आलोचना गरे । ‘कांग्रेसले बिग्रिएका, सडेका, लोकतन्त्र र राष्ट्रियताविरोधी एवं बिकाउ मालहरूसँग घाँटी जोड्छ।

भाँडो कुच्चिएर काम नलाग्ने भएपछि पत्रु भनिन्छ, त्यस्तासँग कांग्रेसले घाँटी जोड्छ । थोत्रा, पत्रु र प्रतिगामी तत्वसँग कांग्रेस जोडिन्छ,’ ओलीले भने, ‘उहिल्यै होस् कि अहिले, कांग्रेस उस्तै छ । कांग्रेसलाई राम्रो कामका लागि राम्रो शक्तिसँग मिल्न बडो मुस्किल छ ।’

ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको विगत र वर्तमानमाथि प्रश्न उठाउँदै उनी कम्युनिस्ट नरहेको आरोप लगाए । ‘कहिले–कहिले भनिन्छ, माधव नेपालले एमाले छाडे । कम्युनिस्टले छाडेको छ र एमाले ? कम्युनिस्टले एमाले छाड्दैन । माधव नेपालजस्ता पत्रु, बिग्रेका र प्रतिक्रियावादीका निम्ति काम गर्ने मान्छेले एमाले छाड्छन्,’ ओलीको भनाइ थियो, ‘कम्युनिस्टको बर्को ओड्नेबित्तिकै जो पनि कम्युनिस्ट हुने हो र ? बर्को ओडेर कम्युनिस्ट हुँदैनन् ।’

११ चैतमा काठमाडौंमा भएको एक कार्यक्रममा नेपालले ओली पूर्वराजासँग मिल्न गएको आरोप लगाएका थिए । ओलीले त्यसको खण्डन गर्दै नेपाल नै राजावादी भएको टिप्पणी गरे । ‘एउटा गठबन्धनवालाले अस्ति भनेको सुनेँ– अब केपी ओली राजासँग मिल्छ । राजाकहाँ छ र केपी ओली मिल्छ ? यिनीहरूको कस्तो बुद्धि हो ! कस्तो मानसिकता ! राजासँग मिल्छ रे ! ’ ओलीले भने, ‘म सम्झाउन चाहन्छु– वरिपरि परिक्रममा गरेर पाउमा दाम राखेर ढोग्ने मान्छे केपी ओली होइन ।’

निर्वाचनको मुखमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएकोमा ओलीले असन्तुष्टि जनाए । ‘प्रधानमन्त्रीजी विदेश जानुभएको छ, ठ्याक्कै चुनावअगाडि किन जानुभयो कुन्नि ? आएपछि सोध्नुपर्ला– यति समय किन जानुभएन, यतिबेरै किन जानुभयो भनेर । यही समयमा किन जानुभयो भनेर ?’ उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय