देउवाको गृह जिल्लामा गठबन्धनः कांग्रेस, माओवादी र समाजवादीको बैठकले गर्यो यस्तो निर्णय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सत्तारूढ दलहरूले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन् ।

आज बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, र नेकपा एकीकृत समजवादीको बैठकले केन्द्रको निर्णयलाई स्वागत गर्दै चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

कांग्रेस जिल्ला उपसभापति दिल्लीराज जोशीको नेतृत्वमा बसेको बैठकमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका जिल्लास्तरका नेताहरू बैठकमा सहभागी भएका थिए ।

कांग्रेस डडेलधुराका सचिव हेमराज चटौतका अनुसार बैठकले निरन्तर छलफल जारी राख्ने निर्णयसमेत गरेको छ । निर्वाचनसम्म गठबन्धनलाई प्रभाव पार्ने खालका कुनै पनि विचार अभिव्यक्तिसमेत कसैले अभिव्यक्त नगर्ने निर्णय पनि भएको कांग्रेस डडेलधुराले जनाएको छ ।

केन्द्रमा भएको निर्णयको मर्मअनुसार जिल्लामा छलफल भएको नेकपा एसका नेता डा. तारा जोशीले बताए । छलफलमा निर्वाचनमा जिल्लास्तरमा तालमेल गर्ने र सोही अनुसार भद्र सहमति गरेर अगाडि बढ्ने निर्णय भएको उनले जानकारी दिए ।

कांग्रेस सभापति देउवाको गृहजिल्लामा कांग्रेसभित्र आन्तरिक विवाद पनि कायम छ । सोही विवादलाई ध्यान राखेर गठबन्धनमार्फत आफ्नो साख बचाउने कांग्रेसको दाउ रहेको छ ।

यस्तै कपा एकीकृत समाजवादीले काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकामा मेयरको दाबी गरेको छ । आज पोखरा पुगेका श्रममन्त्री किसान श्रेष्ठले आफ्नो पार्टीले पोखरामा मेयरको दाबी गरेको खुलासा गरेका हुन् ।

काठमाडौं र पोखरामा तत्कालीन नेकपा एमालेले जितेको कारण आफूहरुले यी दुई महानगरपालिकामा मेयरको दाबी गरेको श्रेष्ठले बताए । कम्तिमा पनिज पोखरा महानगरपालिकाको नेतृत्व लिएर अगाडि बढ्न आफूहरु तयारी अवस्थामा रहेको उनले बताए ।

पोखरामा नेकपा एसले धनराज आचार्यलाई अगाडि सार्ने तयारी गरेको छ । आचार्यलाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आवश्यक तयारी गर्न भनिसकेका छन् । आचार्य विद्यार्थी राजनीति देखि नै एमालेमा सक्रिय थिए । एमाले फुटेपछि उनी नेकपा एसमा लागेका हुन् ।

सत्ता गठबन्धनमा ६ वटा महानगरपालिकामा मेयरको उम्मेदवारी संयुक्त रुपमा दिंदा नेकपा एसले पोखरा महानगरपालिका पाउने उनको भनाई थियो । ६ वटा महानगरपालिकामध्ये एउटा पनि नपाउने भएमा गठबन्धनको औचित्य नहुने समेत बताए ।

मन्त्री श्रेष्ठले ३० वैशाखमा बाकस खोल्दा नेकपा एमाले नराम्रोसँग पराजित हुने ठोकुवा गरे । उनले भने, ‘वैशाख ३० गते बाक्सा खोलेपछि बामालेहरु कहाँ पुग्छन् हेर्दै जानुहोस् ।’ ओलीलाई धुन्धकारी संज्ञा दिदै भने, ‘यस्ता धुन्धकारी निस्किए कि हेर्दै जानुहोस् बामालेहरु कहाँ पुग्नेछन् ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय