माधव नेपालको दाबी- गठबन्धन हुने भएपछि विरोधीको मुख चाउरिएको छ, दिमाग बिग्रेको छ

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलबीच चुनावी तालमेल हुने भएपछि जनतामा उत्साह थपिएको बताएका छन् । नेकपा एमालेतर्फ लक्षित गर्दै उनले त्यसले जनविरोधी शक्तिहरू छट्पटाउन थालेको दाबी गरे ।

वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिलेर चुनावमा जाने सहमति भएको छ । यसले जनतामा उत्साह थपेको छ,’ धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले भने, ‘यसले जनविरोधीहरूको मुख चाउरिएको छ । निद्रा हराम भएको छ । दिमाग बिग्रेको छ । बेहोस हुन बेर छैन ।’

नेता नेपालले चुनावी तालमेलको निर्णयले उनीहरू जे पायो त्यही बोलेर बर्बराउन थालेको टिप्पणी गरे ।

अब उनीहरूको काम बर्बराउने हो उनीहरूको काम भनेको जथाभावी बोल्ने हो । हामी अगाडि बढ्छौं । अब हात्ती हिँड्दै गर्छ । अरु कल्ले भुक्ने हो, भुक्ने काम जति भुक्छ चिन्ता नगर्नुस्,’ उनले थपे ।

नेपालले भने, ‘समयको प्रवाह हाम्रो पक्षमा छ । यो प्रवाहले हामीलाई अगाडि बढ्न उप्रेरित गरिरहेको छ ।’ त्यसको कारण आफूहरूले लिएको सही विचार, सही नीति, सही मूल्य र मान्यता र सही संस्कार रहेको उनले बताए ।

त्यसको ठीक उल्टो प्रतिगामी शक्तिहको ध्वंस गर्ने प्रवृत्ति छताछुल्ल भएकाले कमजोर हुन पुगेको उनको भनाइ छ ।

नाम नलिए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ ईंगित गर्दै उनले ‘दिमाग खुस्केको’ भन्नसम्म भ्याए । उनले भने, ‘दिमाग खुस्के जस्तै जे मुखमा आयो त्यहीँ बोलेको छ । बकबक गर्‍या छ । हामी त्यस्तो बाटो लिँदैनौँ । त्यस्तो प्रवृत्तिबाट सिक्दैनौँ । हामी सुसंस्कार दिन्छौ । त्यसैबाट उत्प्रेरित गर्छौं ।’

गलत ट्रयाकमा गएको राजनीतिलाई ठीक ट्रयाकमा ल्याउनका नेकपा एसले नै पहल गरेको नेपालको जिकिर थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय