मुसिकोटमा खानेपानीको विषयमा उजुरी जिल्ला प्रशासनले माग्यो लिखित जवाफ

गुल्मी । मुसिकोट नगरपालिका वडा नं ८ स्थित एक खानेपानी आयोजनालाई लिएर स्थानीयले जिल्ला प्रशाशन कार्यालय गुल्मीमा उजुरी दिएका छन् ।

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र मुसिकोट नगरपालिकाको संयुक्त लगानीमा सञ्चालित करगं खोला मौरी भिर खानेपानी आयोजनाको विषयलाई लिएर उजुरी दिएका हुन् । उक्त वडाका उपभोक्ताले उपभोग गर्दै आईरहेको खानेपानी आयोजनाका उपभोक्ताहरुले स्थानीयको सहमती बिना पानीको मुहान नै नभएको स्थानमा मुसिकोट नगरपालिकाले जवरजस्ती डिपिआर नै नगरी भौतिक संरचना निर्माण गर्न लागेको र राज्यको सम्पतिको समेत दुरुपयोग गरेको भन्दै स्थानीयले उजुरी गरेका हुन् ।

जिल्ला प्रशाशन कार्यालय गुल्मीमा उनीहरुले बुझाएको उजुरीमा स्थानीयलाई प्रशोधन बिना दुःषित र फोहोर पानी घर घरमा वितरण गरेको विषयलाई पटक पटक विरोध पछि उपभोक्ताको आँखा छल्न हाल उक्त आयोजनालाई नै असर गर्ने र स्थानीय बासीले परापूर्व कालदेखि सिँचाई कुलो प्रयोग गर्दै आईरहेको ठाउँमा स्थानीयको सहमती नै नलिई दम्भका आधारमा चेम्बर बनाउन लगाईएको भन्दै विरोध जनाईएको छ ।

साथै विना टेण्डर चेम्बर निर्माण गर्न लागिएको र स्थानीयका विरोधका बाबजुत पनि निर्माण नरोकिएपछि स्थानीयको भेलाले उक्त चेम्बर भत्काईदिएको बताईएको छ । उजुरीमा मुसिकोट नगरपालिकाले डिपिआर विपरित काम गरी राज्यको सम्पत्ति चरम दुरुपयोग गरेको, स्थानीयको जनस्वास्थ्य माथि गम्भीर खेलवाड गरेको र व्यक्तिगत जग्गामा विना सहमती प्रवेश गरेको आरोप लगाएका छन् ।

उनीहरुले जलश्रोत ऐन २०२० को विपरित काम गरेकाले यस कार्यमा संलग्न मुसिकोट नगरपालिकाका जनप्रतिनिधि र मातहतका कर्मचारीहरुको छानविन गरी कारबाहीको समेत माग गरेका छन् ।

यसैबीच उक्त उजुरी पश्चात जिल्ला प्रशाशन कार्यालय गुल्मीले लिखित जवाफ माग गरेको छ । उजुरीका सम्बन्धमा मुसिकोट नगरपालिकालाई प्रशासनले ७ दिन भित्र जवाफ पठाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय