कांग्रेस-एमाले नै एकातिर हुँदा पनि भरतपुरमा रेणु दाहालले चुनाव जित्ने पक्का

कांग्रेस चितवनले भरतपुर महानगरपालिका रेणु दाहाललाई नछाड्ने, तनावमा प्रचण्ड

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा चितवनका नेता टेकप्रसाद गुरुङले यसपटक भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई नछाड्ने बताए ।अघिल्लो निर्वाचनमा भरतपुर महानगर र संघीय सांसदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाडेकाले यसपटक आफूले पाउनुपर्ने उनको भनाइ थियो ।

चितवनकै अर्का नेता दिनेश कोइरालाले पनि सोही धारणा सार्वजनिक गर्दै आएका छन् । तर, कांग्रेसले अहिलेसम्म केही बोलेको छैन।केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले छोरी रेणुलाई मेयरमा दोहोर्‍याउन भन्दै भरतपुर महानगर माओवादीलाई दिने वातावरण बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रस्ताव गरेका थिए ।

प्रचण्डको यस्तो प्रस्तावपछि नै कांग्रेस चितवनमा हलचल सुरु भएको हो। त्यही भएर चितवनका कांग्रेस नेता कार्यकर्ताले यसपटक कुनै पनि हालतमा भरतपुर महानगर नछाड्ने केन्द्रलाई चुनौती दिएका हुन् ।देउवाले चैत ६ गते बिहान चितवन कांग्रेसका सभापति राजेश्वर खनाललाई बालुवाटार निवासमै बोलाएर ‘भरतपुर प्रचण्डकी छोरीलाई दिनुपर्ने हुन सक्छ, त्यसका लागि सहयोग गर्नुपर्‍यो’ भनेका थिए ।

प्रचण्डले चैत १० गते चितवनमै खनाललाई भेटेर थप कुराकानी गरे । चुनावी तालमेलका लागि आफैंले अघि सारेको ‘मोडालिटी’ ले पनि भरतपुर महानगर माओवादीले पाउनुपर्ने प्रचण्डको तर्क छ ।उनले स्थानीय तहको निर्वाचनमा जुन दलले जहाँ–जहाँ जितेका छन् त्यसलाई कायम राखेर एमालेले जितेका स्थानमा भागबन्डा गर्नुपर्ने ‘मोडालिटी’ अघि सारेका थिए ।

कांग्रेसमा शेखर कोइराला पक्ष भने स्थानीय तहमा केन्द्रबाटै तालमेल गर्न नहुने पक्षमा छ । चितवनमा कोइराला समूहकै बाहुल्य भएकाले स्थानीय तहका नेता तथा कार्यकर्ताको विश्वास नजिती निर्णय लिन देउवालाई अप्ठ्यारो छ ।

त्यही भएर माओवादीसँग चुनावी तालमेल हुने कि नहुने भन्ने अझै भन्न सकिने अवस्था छैन । आज बस्ने केन्द्रीय समिति बैठकले चुनावी तालमेलका विषयमा महत्वपूर्ण निर्णय लिन सक्ने बुझिएको छ ।

उम्मेदवारी दर्ता गराउने समय अब एक महिना पनि बाँकी नरहेकाले प्रचण्डले कांग्रेसमाथि दबाब बढाउँदै गएका छन् । तर, यसपटक कांग्रेसले पनि आफ्नो अडान परिवर्तन गरिसकेको छैन । महामन्त्री गगन थापाले कांग्रेसलाई सधैं हँसिया हथौडा चुनाव चिन्हमा भोट हाल्न लगाउन नहुने मत राखिसकेका छन् । यसले देशव्यापी सकारात्मक ऊर्जा प्रवाह भएको अनुमान गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय