प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे एमालेलाई औपचारिक जानकारी छैनः एमाले विदेश विभाग प्रमुख

काठमाडौं, १८ चैत । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे आफ्नो पार्टीले सञ्चारमाध्यमबाट मात्र जानकारी पाएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. भट्टराईले भने, “प्रधानमन्त्री शेरबहादुर देउवा भ्रमण जाने कुरा हामीले मिडियाबाट थाहा पाएका हौं । संसद्को पहिलो पार्टीसँग किन जाँदैछु, के के विषयमा कुरा गर्छु, भनेर परामर्श गर्नुभएको छैन । हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली काठमाडौं बाहिर हुनुहुन्छ । उहाँसँग कुरा गरेको पनि मलाई औपचारिक जानकारी छैन ।”

प्रधानमन्त्रीले नेपाल र भारतको बीचमा रहेका यावत् समस्याबारे कुराकानी गर्न सक्नुपर्ने डा. भट्टराईले औंल्याए । उनले भने, “भारतसँग नेपालको व्यापार घाटा असाधारण छ । निर्यात घट्दो छ । सीमाका समस्या छन् । नेपाली साइडमा डुबान परिरहेकै छ । भारतले ईपीजी प्रतिवेदन बुझ्दिन पनि भनेको छैन, बुझ्न आनाकानी गरिरहेको छ । यी अवस्थाको बारेमा गहिरो ख्याल राखेर प्रधानमन्त्रीले आगामी दिनमा थप समस्या सिर्जित नहुन् भनेर वार्तामा बस्नुपर्छ ।”

उनले आफू भारतविरोधी नभए पनि नेपाल भारत सम्बन्ध राम्रो र समय सुहाउँदो हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । डा. भट्टराईले भने, “मैले भारतको विरोध गर्नुपर्छ, नकारात्मक कुरा गर्नुपर्छ भनेको होइन । तर विश्वासको वातावरण एक देशले मात्र गरेर बन्दैन । एक हातले ताली बज्दैन । विगतमा सहमति गरेका कुरा भारतले कार्यान्वयन गर्ने कि नगर्ने भन्दा भारतविरोधी, अर्घेलो गरेको कुरा हुन्छ ? हामीलाई सन् १९५० को दशकको हेरेर हुँदैन, २०२२ लाई सोचेर व्यवहार गर्नुपर्छ । समस्यालाई यथावत् राखेर भन्दा समाधान गरेर मात्र सम्बन्ध राम्रो हुन सक्छ । इतिहासले छाडेका सन् १९५० को मैत्री तथा शान्ति सम्झौता, सीमा समस्या, डुबान, पारवहन आदि बहुआयामिक सम्बन्धबारे स्पष्ट कुरा राख्नुपर्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय