काठमाडौं । नेकपा माओवादी केन्द्रले २०७४ सालमा झैं कांग्रेसलाई धोका दिने सम्भावना बढेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई एमालेसँग मिल्ने चेतावनी दिइसकेका छन्। उनले चुनावी तालमेलको विश्वासिलो आधार नदिए नेकपा एमालेतिर जाने चेतावनी दिएका हुन्।
बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेससँग चुनावी तालमेलको विश्वासिलो आधार खोजी गरेका हुन् । बैठकमा उनले ‘तपाईंहरुले जित त सुनिश्चित गरिसक्नुभएकै छ, अब त्यसमा के छलफल गराई भयो र ?,’ भनेको एक नेताले सुनाए।
यसले गठबन्धनलाई कांग्रेसले हल्ला ढंगले लिएको प्रष्ट भएको भन्दै उनले एमालेतिर जाने चेतावनी दिए । ‘चुनावी गठबन्धनको कुरालाई तपाईंहरुले एकदम हल्का रुपमा लिइरहनुभएको छ, यो कुराले म एकदमै प्रेसरमा छु । मेरा साथीहरु राति १२ बजेसम्म पनि नेकपा एमालेका नेताहरुसँग मिटिङ गरिरहनुभएको छ। स्थानीय सरकारको गठबन्धन सही ढंगले गएन भने मैले नचाहँदा नचाहँदै पनि एमालेसँग गठबन्धन गर्नुपर्ने हुनसक्छ । तपाईंहरु नै अप्ठ्यारोमा पर्नुहुन्छ ।’
प्रचण्डले एमालेतिर जानसक्ने चेतावनी दिए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले भने कुनै प्रतिउत्तर नदिएको ती नेताले जानकारी दिए ।