कुन महानगरमा कस्को दाबी ?

काठमाडौं, १६ चैत्र । सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने भएका छन् । नेपाली काँग्रेस स्थानीय चुनावमा तालमेल गर्ने निर्णय गरेसँगै मुख्य स्थानीय तहहरुमा मिलेर चुनाव लड्ने सम्भावना देखिएको छ ।

स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा महानगरपालिका र उपमहानगरपालिकामा विशेष चासो देखिएको छ । त्यसमाथि पनि ६ वटा महानगरपालिकामा आकांक्षीहरुको ध्यान गएको छ ।

सत्ता गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच तालमेल हुने भएसँगै महानगरमा दाबेदारीको आवाज बढ्न थालेको छ । गठबन्धनका शिर्ष नेताहरुले २०७४ को स्थानीय चुनावमा आफूले जितेको महानगरमा आफ्नो दलको तर्फबाट उम्मेदवार उठाउने विषय अगाडि सारेका छन् ।

ललितपुर र विराटनगरमा नेपाली काँग्रेस, भरतपुरमा नेकपा माओवादी केन्द्र र वीरगञ्जमा जनता समाजवादी पार्टीले जितेको थियो । काँग्रेसले ललितपुर र विराटनगरका अलावा काठमाडौंमा समेत दाबी देखाएको छ । भरतपुरमा माओवादीले दाबी गरेको छ । आज प्रचण्डले नै यसबारे मुख खोलेका छन् ।

एमालेले जितेका काठमाडौं र पोखरामा गठबन्धनमा चासो छ । काँग्रेसले कुनै हालतमा काठमाडौं महानगरपालिका नछाड्ने भएको छ । पोखरामा पनि काँग्रेस अन्य दलभन्दा बलियो छ । यी दुवैमा उसको दाबी देखिएको छ । बरु उपमहानगरपालिका र नगरपालिकाहरुमा मिलाउने काँग्रेसको प्रस्ताव रहेको बुझिएको छ ।

पोखरामा नेकपा एस कमजोर छ । उसले काठमाडौंको साटो ललितपुरमा समेत चासो देखाएको छ । तर, ललितपुर यसअघि काँग्रेसले जितेको महानगरपालिका हो ।

जसपाले वीरगञ्ज छाडेर विराटनगरमा समेत दाबी गर्ने सम्भावना देखिएको छ । विराटनगरमा जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले दाबी गरेका छन् । तर, काँग्रेस जितेको महानगरपालिका छाड्न तयार छैन ।

उपमहानगरपालिकाहरुमध्ये धरान, इटहरी, जनकपुर, बुटवल, नेपालगञ्ज, तुलसीपुर, घोराही, हेटौंडा, वीरेन्द्रनगर, धनगढीमा पनि गठबन्धनबीच तालमेलको अग्रिम तयारी भइरहेको छ । नेकपा एस र जसपालाई उपमहानगरपालिकाहरुमा केही बढी सिट दिएर काँग्रेस र माओवादीले महानगरपालिकाहरुमा आफ्ना उम्मेदवारहरुलाई अगाडि बढाउन खोजिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय