३८ वर्ष मसालबाट राजनीति गरेका थापा एमाले प्रवेश

काठमाडौं । नैबेला झिमरुक क्षेत्रको मात्र होइन्, प्यूठानको ‘ढुंगोमाटो’ पनि नेकपा मसालसँग आवद्ध छ भनेर प्यूठानलाई चित्रण गरिन्थ्यो। मसाल र त्यसको चुनावी मोर्चामा राष्ट्रिय जनमोर्चाका नेता, कार्यकर्ता नभएका घर हुँदैनथ्यो।

तन्नेरी अवस्थाबाटै नेकपा मसालमा आवद्ध भएर गाउँमा राजनीति यात्रा थालेका झिमरुक गाउँपालिका-४ बांगेमरोठका जगतबहादुर थापा अहिले ५४ वर्षका भए। मसाल र राष्ट्रिय जनमोर्चासँगको उनको यात्रा अहिले ३८ वर्ष पुग्यो।

१६ वर्षको तन्नेरीमै मसाल भएका थापाको उक्त पार्टीसँगको यात्रा यूवा अवस्थामा पुगेको थियो। आफ्नो ऊर्जाशिल जीवन मसालमा विताएका थापाले सोमवारदेखि त्यस पार्टीसँगको यात्रामा विश्राम लगाए। सैद्धान्तिक र दार्शनिक कुरा गरेर नथाक्ने पार्टीले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसक्ने निजोड निकालेर आफूसहित सिंगो गाउँ नै एमालेमा जोडिएको थापाले सोमबार बांगेकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले प्रतिक्रिया दिए।

‘जनतासँग चन्दा उठाएर कहिलेसम्म पार्टी चलाउने?’, थापाले सुनाए, ‘पार्टीको सिद्धान्त एउटा र व्यवहार अर्को देखेपछि यही पार्टीमा बसीरहन मनले मानेन्।’ उनले गाउँका सयौँ नागरिकहरुले नेकपा मसाललाई छाडेर आफूसँगैको यात्रामा जोडिन चाहेकालेसँगै यात्रा थालेको प्रतिक्रिया दिए।

थापाले ३३ वर्ष शिक्षण पेशाबाट एक वर्ष अघि अवकाश लिएका थिए। गाउँकै दिपेन्द्र प्राथमिक विद्यालयमा उनले पढाएका हुन्। शिक्षकसँगै उनले विहान, बेलुकाको समय जनताको सेवामा खर्चिने गरेका थिए। जनताको दैनिकिसँग आफू नजिकबाट घुलमिल भएकै कारण गाउँभरीका नागरिकहरु आफ्नो साथमा भएको उनले विगत सुनाए। मसालको शुरुवातदेखि नै पार्टी सदस्य रहेका उनी शिक्षण पेशामा कार्यरत रहँदा अखिल नेपाल शिक्षक संघ झिमरुकको उपाध्यक्ष थिए।

भरतविक्रमको २२ वर्षदेखिको यात्रामा पनि विश्राम थापासँगै बांगेमरोठकै समाजसेवी भरतविक्रम जिसीको पनि नेकपा मसाल र राष्ट्रिय जनमोर्चासँगको २२ वर्षदेखिको यात्रामा विश्राम लागेको छ। लामोसमय त्यस पार्टीमा जोडिएर समय खर्चिएपनि अन्ततः भविष्य नदेखेर एमाले पार्टी रोजिएको जिसीले पार्टी प्रवेश कार्यक्रममा प्रतिक्रिया दिए।

‘देशले रोजेको र सवैले खोजेको पार्टी एमाले नै हो रहेछ’, उनले भने,‘राष्ट्रिय जनमोर्चाले नेतृत्व गरेको स्थानीय सरकारका प्रतिनिधीसँग विकास बजेट प्रयोग गर्ने र जनताको भावना बुझ्नसक्ने खालको व्यवहार नपाएपछि त्यस पार्टीमा बसिरहन मन लागेन्।’उनले एमालेमा रहँदासम्म निरन्तर जनताकै पक्षमा काम गरिरहने प्रतिवद्धता सुनाए।

थापा र जिसी मात्र होइन्, सोमवार बांगेकोटमा आयोजित कार्यक्रममा गाउँका धेरै नागरिक एमालेमा प्रवेश गरे। गाउँका ९७ घरधुरीका १ सय ५० जना बढी नागरिकहरु एमालेमा जोडिएको एमाले वडा कमिटीले जनाएको छ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापा, एमालेकै केन्द्रीय सदस्य एवं प्यूठान सहइन्चार्ज तथा पूर्वमन्त्री हरिप्रसाद रिजाल र एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्टले उनीहरुलाई एमालेमा स्वागत गरे।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय