कुलमानको तारिफ गर्दै प्रचण्डले भने- इमान्दारिताका साथ काम गरे देश बनाउन समय लाग्दो रहेनछ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश तीब्र विद्युतीकरणमा गएको बताएका छन् । लोडसेडिङको चरम मारमा रहेको मुलुक अहिले धेरै विद्युत हुने र विदेशसम्म बेच्न मिल्ने अवस्था आइसकेको उनको भनाइ थियो ।

लोडसेडिङमुक्त देशमात्रै होइन्, अब त विद्युत सरप्लस ! धेरै विद्युत हुने र विदेशसम्म बेच्न मिल्ने अवस्थासम्म देश आइपुग्यो,’ गृहजिल्ला चितवनमा एक नवनिर्मित सब स्टेसनको उद्घाटन गर्दै प्रचण्डले भने,‘अब हामी यातायात पनि विद्युतबाटै, चुलोचौको पनि विद्युतबाटै, सिँचाइ पनि विद्युतैबाट र सबैचिज विद्युतबाट गर्नेतिर यो देश अगाडि बढ्दैछ ।’

सो कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल र नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ पनि उपस्थित थिए । सोही समारोहमा अध्यक्ष प्रचण्डले ऊर्जामन्त्री भुसाल र महानिर्देशक घिसिङको तारिफमा समय खर्चिए ।

अध्यक्ष प्रचण्डले इमान्दारिता र दृढताका साथ काम गरे देश बनाउन समय नलाग्ने बताए । ‘साँच्चै इमान्दारिताका साथ दृढताका साथ उपाय खोजेर बनाउन लागे देश बनाउन धेरै समय लाग्दो रहेनछ’, उनले भने, ‘जसरी ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत प्राधिकरणले विद्युत उत्पादनसँगको कामलाई प्रगति गर्‍यो । सबै मन्त्रालयले त्यसरी नै काम गर्ने हो भने यो देश बनाउन धेरै वर्ष लाग्दो रहेनछ ।’

उनले विद्युत प्राधिकरणमा घिसिङलाई ल्याउन गरेको निर्णयमा पनि गर्व लागेको बताए । ‘हामीले लिएको निर्णयप्रति पनि गर्व गर्दछु । यो क्षेत्रमा योगदान पुर्‍याउने सबैलाई धन्यवाद,’ उनले भने ।

सोही कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूले चितवन जिल्लालाई विकासको मोडलको रूपमा निर्माण गर्न चाहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय