कांग्रेस निर्णयको ड्राफ्ट- एक्लै लड्न सक्षम छौं, तर पनि तालमेल गर्छौं

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनमा एक्लै लड्न सक्षम भए पनि सहकार्यको राजनीतिलाई निरन्तरता दिन चुनावी तालमेल गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय समितिको जारी बैठकले देशका सबै स्थानीय तहमा एक्लै निर्वाचन लडेर बहुमत स्थानीय तहको नेतृत्व गर्न सक्षम भए पनि गठबन्धन सरकारमा रहेका दलहरूबीचको सहकार्यलाई निरन्तरता दिन ‘आवश्यक स्थानीय तहमा तालमेल गर्ने’ निर्णय लिन लागेको हो । यसको औपचारिक निर्णय लिन कांग्रेस केन्द्रीय समितिको बैठक आज ३ बजे सानेपामा बस्दैछ ।

शुक्रबारदेखि जारी बैठकमा सोमबारसम्म प्रदेश सभापति, केन्द्रीय सदस्य र पदाधिकारीहरूले धारणा राख्ने क्रम सकिएको छ । सभापति देउवाले आजको बैठकमा सम्बोधनसहित निर्णय प्रस्ताव गर्नेछन् ।

बैठकको निर्णय ड्राफ्ट गर्ने जिम्मेवारी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई दिइएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा तयार भइसकेको ड्राफ्टमा तालमेलको पक्षमा उभिने निर्णय प्रष्ट लेखिएको छ । यद्यपि त्यसअगाडि लामो भूमिका बाँध्दै ‘कांग्रेसको सक्षमता’ वर्णन गरिएको छ ।

कांग्रेसले निर्वाह गरेको ऐतिहासिक दायित्व, यसको लोकतान्त्रिक चरित्र, अघिल्लो निर्वाचनको जनमत जोगाउन कम्युनिष्टहरू असफल भएको लगायतका सन्दर्भ जोडेर कांग्रेस एक्लै चुनाव लड्नसक्ने कुरा लेखिएको छ । अन्तिममा भने संघ र प्रदेशमा जारी ५ दलीय गठबन्धनबीच सहकार्य जरुरी भएकोले चुनावी तालमेल गर्ने निर्णय गरिएको आशय उल्लेख छ’, निर्णयको ड्राफ्ट पढेका एक नेताले भने ।

बैठकले चुनावी तालमेलको आवश्यकताबारे सैद्धान्तिक निर्णयसँगै आवश्यकताको टुंगो लगाउने जिम्मा भने स्थानीय समितिलाई दिने भएको छ ।

प्रस्तावित निर्णयमा कुन-कुन स्थानीय तहमा चुनावी तालमेलको आवश्यक रहन्छ र शक्ति बाँडफाँट कसरी गर्न सकिन्छ भन्नेबारे सम्बन्धित जिल्ला समितिले निर्णय र सिफारिस गर्ने विषय समावेश गरिएको छ ।

बैठकले संसदीय समितिको गठनसमेत गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय