काठमाडौं । स्थानीय तहको निर्वाचन नजिक आइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सोमबार रोल्पा आए ।
सत्ता गठबन्धन शक्तिसँगै स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिने वा नदिने भन्ने बारेमा तीव्र बहस चलेका बेला दाहालले भने रोल्पामा गठबन्धनलाई निरन्तरता दिनु आवश्यक भएको दाबी दोहोर्याए ।
‘प्रतिगामीलाई परास्त पार्न अहिलेको गठबन्धनलाई कायमै राख्नु आवश्यक छ,’ प्रतिपक्षी दल एमाले र उक्त पार्टीका अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै उनले भने, ‘नायक बनाउन खोज्दा खलनायक बन्न चाहनेसँग साथै बसेर जान सकिएन ।
अब तिनीसँग मिल्न सक्ने कुरा छैन ।’ रोल्पा नगरपालिकाले करिब ६ करोड लगानीमा निर्माण गरेको जनयुद्ध स्मृति भ्यू टावरको उद्घाटन गरेका दाहालले दिउँसो सदरमुकाम लिबाङमा आयोजित जनसभालाई सम्बोधन गरेका थिए ।
सात वर्षपछि रोल्पा आएका दाहालले कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा हौस्याउने र फुक्र्याउने प्रयास समेत गरे । ‘तपाईंहरु महान हुनुहुन्छ, महान जनयुद्ध यहीँबाट सुरु भएको थियो । म युद्धको नेतृत्वकर्ता भएकाले मलाई तपाईंहरूप्रति गर्व छ,’ उनले भने ।
यतिबेला आफ्नो दललाई हेपिएको प्रसंग उल्लेख गर्दै दाहालले जिल्लावासीलाई फुक्र्याउँदै भने, ‘तपाईंहरूले इँटको जवाफ पत्थरले दिनुस् ।’ रोल्पाप्रति आफ्नो बेग्लै साइनो भएको प्रसंग कोट्याउँदै उनले युद्ध सुरु गर्दा र शान्ति प्रक्रिया थाल्नुअघि लगातार २ वर्ष यहीँ बसेको समेत सुनाए ।
‘हामीलाई कसैले हेप्न खोज्दा तपाईंहरुले जोगाउनु होला । रक्षा गर्नुहोला,’ उनले आग्रह गरे । उनले जनयुद्धको महानता जोगाउन र बुझाउन रोल्पालीले मात्रै जानेको समेत बताए ।
बुद्धिजीवी र जनता आफ्नो पक्षमा भएकाले स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा लहर देखिने दाबी गर्दै उनले भने, ‘माओवादी फेरि एकपटक पुरानै शक्तिमा फर्कने अवस्था देखिएको छ ।’। एमसीसी पारित गर्नुको कारण
गठबन्धन र संविधान जोगाउनु रहेको दाबी गरेका उनले अबका हरेक निर्वाचन माओवादीका लागि लडाइँ भएको बताए । शान्ति प्रक्रियापछिको पहिलो निर्वाचन २०६४ मा दाहालले रोल्पाबाट संविधानसभाको सदस्यमा निर्वाचनबाट विजयी भएका थिए ।
दाहालले लिबाङमा बोल्दै केपी ओलीलाई कम्युनिस्ट एकताबाट नायक बनाउन खोजेको तर २०७५ सालमा माओवादी र एमाले एकता असफल भएको बताए । प्रधानमन्त्री बनेपछि ओली संविधान र परिवर्तनविरुद्ध लाग्दा समस्या उत्पन्न भएको र पार्टी अलग हुन पुगेको समेत दाहालले बताए ।
ओलीलाई लक्षित गर्दै दाहाले भने, ‘जसलाई हामीले धोइपखाली गरेर राम्रो बनाउन सकिन्थ्यो कि भनियो, जसलाई नायक बनाउन सकिन्थ्यो कि भनियो उनी खलनायक निक्लिए ।’