गुल्मीमा युवालाई स्वरोजगार बनाउने अभियानसंगै युवा बर्ष मनाइदै

भुवन भुसाल , चैत्र,गुल्मी- गुल्मीको छत्रकोट गाउँपालिकामा ब्लक स्तरिय समितिका युवाहरुका लागि युवा उद्यम विकास अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

विभिन्न क्षेत्रका बिज्ञहरु संग छत्रकोटका नया उद्यमि एवं उद्यम गर्न चाहाने युवाहरुको बिच अन्तर्कृया कार्यक्रम गरिएको हो ।

छत्रकोट गाउँपालिकाको घोषित कार्यक्रममा यो आर्थिक बर्षलाई युवा वर्षको रुपमा मनाउने उल्लेख छ । सोही अनुरुप युवा हरुको चाहानालाई व्यवहारमा परिणत गर्न के गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिनुभयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले गुल्मी मा यस्तो खालको युवा लक्षित कार्यक्रम पहिलो पटक आयोजना गरिएको भन्दै गाउँपालिकाको प्रशंसा गर्नुभयो ।

प्रमुख भण्डारीले युवालाई उद्यमशिल बनाउन कृषि ज्ञान केन्द्रले विभिन्न कार्यक्रम गरिरहेको भन्दै लाभ लिन युवाहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
भेटेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रका प्रमुख डा भरत काफ्लेले कार्यक्रममा फार्म दर्ता , ऋण , अनुदान , बिज्ञ केन्द्रले दिने सेवा लगायतका बारेमा जानकारी गराउनुभयो ।

पैंचो पसलका कार्यकारी प्रमुख केशव न्यौपानेले अब लाहुर होइन उद्योग र व्यवसाय युवाहरुको प्रमुख रोजाई हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा युवाहरु संग बोल्दै न्यौपानेले योजना बनाउन समय खर्च गर्ने तर योजना बनाएपछी अनवरत लागिरह्यो भने सफलता मिल्ने दाबी गर्दै पैंचो पसल स्थापना देखि हाल सम्मको सफलताको कथा समेत सुनाउनु भयो ।

शाइन रेसुङ्गा बैंक बलेटक्सार शाखाका प्रमुख बिनोद ज्ञवालीले वास्तविक किसानलाई सहुलियतपूर्ण ऋण दिन बैंक तयार रहेको भन्दै कृषि कर्ममा लाग्न प्रेरणा दिनुभयो ।

गाउँपालिकामा रहेका २८ वटा ब्लकहरु रहेको र पहिलो पटक प्रती ब्लक १ लाख ५० हजार अनुदान उपलब्ध गराउने गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले बताउनुभयो । अध्यक्ष पन्तले जुन समुहले नयाँ र अनुकरणीय योजना बनाउछ त्यो समुहलाई थप रकम सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय