सबैले बुझेको कुरा ओलीले बुझ्न बाँकी छ, गल्ती स्वीकारेमा कम्युनिस्ट एकता सम्भव : नेता भुसाल

काठमाण्डाै – नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको निर्णय गलत भएको स्वीकार्नुपर्ने बताउनुभएको छ ।

काठमाण्डौमा आज मङ्गलवार पत्रकार सम्मेलन गरेर भुसालले दुई पटकसम्म संसद् विघटन गर्ने निर्णय गलत भएको र सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिनु सही भएको विषय लिएर नागरिकमा जानुपर्ने बताउनुभएको हो । नेतृत्वले गल्ती स्वीकार गरेमा फेरि कम्युनिस्ट पार्टीको एकता सम्भव रहेको पनि नेता भुसालको दाबी छ ।

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको एकता आवश्यक रहेको र चुनावमा गठबन्धन गरेर जान सकिने भुसालको तर्क रहेको छ । तर स्वार्थमा आधारित एकता नटिक्ने विषय प्रमाणित भइसकेकाले स्वार्थरहित एकता गर्नुपर्नेमा उहाँकाे जोड रहेको छ । नेताहरूको स्वार्थमा आधारित एकता टिक्दैन भन्ने कुरा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुझ्न बाँकी रहेको भन्दै नेता भुसालले पोलिटब्युरो, स्थायी कमिटी र कार्यकर्ताले बुझेको कुरा उहाँ (अध्यक्ष ओली) ले अझै नबुझेको बताउनुभयो ।

‘नेताका स्वार्थमा आधारित भएर एकता भयो भने हालत यस्तो हुन्छ भन्ने दुनियाँले, हामीले बुझिसकेका छौँ, त्यो हाम्रो पार्टीभित्र पनि कमरेड ओलीलाई केही बुझाउनपर्ने बाँकी छ, नत्र भने सबैले बुझेका छन् । स्थायी समिति, पोलिटब्युरो सबैले बुझेका छन् । तल कार्यकर्ताले बुझेका छन्’, भुसालले भन्नुभयो ।

केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विगतका गल्ती स्वीकारेमा एकताको आधार बन्ने र इमानदार कार्यकर्ताले अझै पनि एमाले, माओवादी र एकीकृत समाजवादी एक ठाउँमा उभिएको हेर्न चाहेको घनश्याम भुसालको दाबी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय