देउवालाई ओलीको कटाक्ष : लौरो टेकेर अरुले नदेख्ने गरी सूर्यमा भोट हाल्नुहोस्

‘यो गठबन्धन त केही पनि होइन, यो जनताले बनाएको हो र ? यो त अदालतले बनाइदिएको हो । यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावबाटै पार्टीले प्रादेशिक र संघीय चुनावको झलक दिने बताएका छन् । शनिबार एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले अहिले पनि प्रथम पार्टी भएकाले चुनावमा जाँदा राम्रा कामको प्रचार गर्नुपर्ने बताएका हुन् ।

सम्बोधनमा सत्तारुढ गठबन्धनप्रति लामो समय कटाक्ष गरेका ओलीले अहिलेको गठबन्धनलाई ‘जनताको आँगनमा पछारिदिने’ पनि बताए। उनले भने, ‘यो गठबन्धन त केही पनि होइन, यो जनताले बनाएको हो र? यो त अदालतले बनाइदिएको हो। यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ। मुद्दा जितेर आएको सरकारलाई मुद्दा लड्न जा भन्दिने हो। यिनीहरू झगिडया हुन्। झगडियाको काम मुद्दा लड्ने हो।’

त्यस्तै कांग्रेससँग कुनै पनि एजेन्डा नभएकाले अघिल्लो सरकारको भण्डाफोर गर्ने नीति भनेर हल्ला गरेको पनि ओलीको भनाइ छ। कांग्रेसप्रति आक्रामक हुँदै ओलीले भने, ‘कांग्रेसले अघिल्लो सरकारको भण्डाफोर गर्ने रे। कांग्रेसले जे पायो त्यही बोल्छ उसको यो पुरानो बानी हो। तपाईं हामीले सुनेका छौं ६० वर्षमाथिका बूढाबूढीलाई कम्युनिस्ट सरकार बन्यो भने गोली हानेर मार्छ भन्थे। अब बूढाबूढीको छेउमा कांग्रेस जाओस् त।’

वृद्धभत्ता ४ हजार रुपैयाँ पुर्‍याउनु आफ्नो सरकारको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्दै ओलीले भने, ‘शेरबहादुर देउवा आफै कांग्रेसमा किन छन् भन्दा बूढो भएर पनि कांग्रेसमा शेरबहादुर देउवा किन छन् भन्दा उनलाई ४ हजार भत्ता के गर्नु? छँदैछ। त्यसकारण छन् नत्र शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे। शेरबहादुरजीलाई म भन्न चाहन्छु, कम से कम ज्येष्ठ नागरिक हो तपाईं लौरो टेकेर भए पनि सूर्य चिह्नमा भोट हाल्नुहोस्, अरुले नदेख्ने गरी भए पनि। कम्तीमा जीवनमा एउटा पुण्य कमाउनुहुन्छ। हामीले राम्रा कामहरू गरेका छौं, त्यसलाई जनतामाझ लिएर जानुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय