कांग्रेस, एमाले ढुक्क, माओवादी, एकीकृत समाजवादी धरमर

काठमाडौं, चैत ६ । सत्ता गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशव्यापी अभियानमा जुटेका छन् । गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेलाई विरासत जोगाउने चुनौती रहेको एमालेले सत्ता गठबन्धनमा आबद्ध रहेका चार दल एकातिर हुँदा पनि आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम ल्याउने दाबी गर्दै आएको छ ।

तर, एमाले विभाजित भएकाले विगतकै विरासत धान्न नेकपा (एकीकृत समाजवादी) चुनौतीको रूपमा देखिएको छ । एमालेले ७ सय ५३ वटै स्थानीय तहमा चुनावी अभियान तीव्र रूपमा अघि बढाएको छ । एमालेका नेता शेरबहादुर तामाङले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गर्दै भने– ‘सत्तारूढ दलसँगै एमाले एक्लै चुनाव लड्न तयार छ, एमालेले स्थानीय तहको निर्वाचनमा बलियो उपस्थिति जनाउने क्षमता राख्दछ ।’

त्यसै गरी सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पनि कम्युनिस्ट पार्टी विभाजित भएको अवस्थामा आफ्नो दल स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने दाबी गरेको छ । विगतको भन्दा यसपटक स्थानीय तहको निर्वाचनमा बलियो उपस्थिति जनाउने गरी कांग्रेसले ‘घर–घर जाऔं’ भन्ने नारासहित एक महिने अभियान अघि बढाएको छ । कांग्रेस निर्वाचन जित्नेमा ढुक्क देखिएको छ ।

सत्ता गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जानुपर्नेमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी केन्द्रले जोड दिँदै आएको छ । तर, कांग्रेसभित्र संस्थापन पक्ष इतरका नेताहरू कुनै पनि हातलमा गठबन्धन निर्माण गर्न नहुने पक्षमा देखिएका छन् ।

कांग्रेसको संस्थापन पक्षले गठबन्धन अस्वीकार नगरे पनि चुनावी तालमेल नै गरेर जानुपर्ने पक्षमा पनि अभिव्यक्ति दिएको छैन । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका अन्य दललाई चिढ्याउने गरी अभिव्यक्ति नदिन निर्देशन दिए पनि कांग्रेसका नेताहरू चुनावी तालमेलको विपक्षमा सशक्त रूपमा उभिएका छन् ।

कांग्रेस र एमाले स्थानीय तहको निर्वाचनमा ढुक्क देखिए पनि सत्तारूढ दल माओवादी केन्द्र र एकीकृत समाजवादी भने धरमरको अवस्थामा देखिएका छन् । माओवादीलाई विगतमा जितेको स्थानीय तहमा चुनाव जित्ने चुनौती रहेको छ भने एकीकृत समाजवादी नयाँ पार्टी भएकाले स्थानीय तहको निर्वाचनमा बलियो उपस्थिति जनाउनेमा चिन्तित रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय