काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको सामर्थ्य देखिने बताएका छन्।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सामर्थ्य देखिने बताएका हुन्।
चुनावी मैदानमा पार्टीको शक्ति देखिने भन्दै उनले आफूहरुलाई खिसीट्युरी गर्नेहरुको हरिबिजोग हुने पनि उल्लेख गरे।
पार्टीको चुनाव चिन्ह कलमले कमाल देखाउन सक्नुपर्ने पनि नेपालले बताए। अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरूलाई पार्टीको संगठन निर्माण, परिचालन र प्रचार प्रसारको काममा केन्द्रित हुन पनि निर्देशन दिए।
‘हाम्रो पार्टीको भविष्य उज्ज्वल छ। वैशाख ३० गतेको चुनावमा कलमको कमाल देखिन सक्नुपर्दछ । सत्य र न्यायको प्रतीक कलमले कमाल गर्छ भन्ने आशा गर्दै प्रचार अभियानमा गाउँ–गाउँ, टोल–टोल, बस्ती–बस्तीमा हामी पुगौँ उनले भने, जनतामाझ पार्टीको प्रचार–प्रसार गर्ने काममा, संगठन बनाउने काममा, जनपरिचालन गर्ने काममा लागि परौँ। राष्ट्रिय सभाको पहिलो चुनावमा पनि सामर्थ्य देखाएका छौँ। राष्ट्रिय सभाको दोस्रो चुनावमा पनि देखाएका छौँ। अब स्थानीय तहको चुनावमा हाम्रो सामर्थ्य देखिनेछ। हाम्रो खिसिट्युरी गर्ने तत्वको हरिबिजोग हुनेछ।
अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा प्रगतिशील भूमिका खेल्नेहरू पुरस्कृत र प्रतिगामी भूमिका खेल्नेहरू दण्डित हुनुपर्ने बताए।
प्रतिगामी भूमिका खेल्नेहरू पुरस्कृत भएमा समाज बाँच्न लायक पनि नहुने उनले बताए।
राजनीतिलाई आकर्षणको विषय बनाउन असल पात्र, प्रवृत्ति र चरित्रलाई अगाडी सार्नुपर्ने उनले बताए।
‘त्यो चुनावले जनतालाई फैसला गर्ने अधिकार दिएको छ। जसले प्रगतिशील भूमिका खेलेको छ । त्यसको उच्च मूल्यांकन हुनुपर्दछ । जसले प्रतिगामी भुमिका खेलेको छ, त्यसले दण्डित हुनुपर्दछु, उनले भने, प्रतिगामी भुमिका खेल्नेहरू, आन्दोलनको विकासमा बाधक हुनेहरु पुरस्कृत हुन पुगे भने हाम्रो समाज बाँच्न लायक हुँदैन। राजनीतिलाई आकर्षणको विषय बनाउने हो भने असल प्रवृत्ति, असल चरित्र, असल पात्रहरूलाई अगाडि सार्नुपर्दछ।