सत्ता गठबन्धन दलका नेताबीच सार्वजनिक मञ्चमा सवालजवाफ चलिरहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटै तहमा चुनावी तालेमल गरेर अघि बढ्ने आश्वासन दिएका छन् । देउवाले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बालुवाटार बोलाएर सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुनेमा आशंका नगर्न आग्रह गरेको बालुवाटार स्रोतले बताएको छ ।
देउवाले कांग्रेसले फागुन २९ बाट सुरु गरेको अभियान सकिनासाथ तालमेलको निर्णय लिने बताएका हुन् । स्थानीय तहमा सबै ठाउँमा तालमेल सम्भव नभए पनि महानगरपालिका र उपमहानगरपालिकासम्म केन्द्रीय तहबाटै तालमेल गर्नेबारे नेताहरूबीच छलफल चलेको छ । अन्य पालिकामा स्थानीय आवश्यकताका आधारमा तालमेल गरेर जानुपर्ने नेताहरुले बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन हुने/नहुने नेपाली कांग्रेसको व्यवहारमा पनि भर पर्ने बताएका छन् ।
बिहीबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले तत्काल एमालेसँग सहकार्यको सम्भावना नरहेको बताए । आफूहरु पाँचदलीय गठबन्धनमा रहेको भन्दै उनले भने, ‘तत्काल एमालेसँग सहमति हुने सम्भावना देखिएको छैन । तर यो एक हदसम्म कांग्रेसको व्यवहारमा पनि भर पर्छ ।’
केही नेताहरुले केही नेताहरुले कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवाद ढंगले बोल्न थालेको भन्दै उनले भने, ‘कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन ।’
तर कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा हर हालतमा गठबन्धनलाई बचाएर जानुपर्छ भन्नेमा भएकाले त्यो (एमालेसँग तालमेल गर्ने) परिस्थिति आउला भन्ने देखेको छैन ।’