यी हुन् सेयर बजारमा धेरै प्रतिफल दिने उच्च मूल्य भएका दर्जन कम्पनी

काठमाडौं– सेयर बजारमा आम सर्वसाधारण आकर्षण बढेसँगै धेरै कम्पनीहरु पव्लिक कम्पनीको रुपमा परिणत हुँदै आएका छन् । निजी लगानी भएर पनि पव्लिकमा गएका कम्पनीहरुको सेयर मूल्य बढ्दै गएको छ । सेयर बजारमा दैनिक सवा दुई सय कम्पनीको कारोबार हुने गरेको छ । यी मध्ये करिव एक दर्जन कम्पनीको मूल्य उच्च रहेको छ ।

नेपाली बजारमा सबैभन्दा महंगो सेयर मूल्य रहेको कम्पनीमा युनिलिभर रहेको छ । युनिलिभरको प्रति कित्ता सेयर मूल्य बुधबार १९ हजार पाँच सय रुपैयाँ थियो । युनिलिभर सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी हो । एक वर्षअगाडि २३ हजार १ सय ८० रुपैयाँ रहेको सेयर मूल्य सस्तो हुँदा १८ हजार ५० रुपैयाँसम्म कारोबार भएको छ ।

अन्य महंगो सेयर मूल्य भएका कम्पनीमा राष्ट्रिय बीमा कम्पनी, बोटलर्स नेपाल (तराई) लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन, जीवन लघुवित्त, हिमालय डिस्टिलरी लिमिटेड, महिला लघुवित्त ,नागरिक लगानी कोष, फरवार्ड लघुवित्त लगायत रहेका छन् ।

राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य बुधबार प्रतिकित्ता १७ हजार ५ सय ५० रुपैयाँ थियो । गत वर्ष सेयर मूल्य २४ हजार ३ सय ७० रुपैयाँसम्म पुगेको थियो । राष्ट्रिय बीमा कम्पनीको सेयर न्यूनतम १३ हजार ९ सय ७ रुपैयाँसम्म झरेको थियो ।

त्यसैगरी, कोकाकोला लगायतका पेयपदार्थ उत्पादन गर्ने बोटलर्स नेपाल (तराई) लिमिटेडको सेयर मूल्य बुधबार प्रतिकित्ता १३ हजार ३ सय २० रुपैयाँ रहेको थियो । गत वर्ष बोटलर्सको सेयर मूल्य १७ हजार ६ सय ७० रुपैयाँसम्म पुगेको थियो भने न्यूनतम ८ हजार ७ सय १० रुपैयाँसम्म कारोबार भएको थियो ।

त्यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य बुधबार प्रतिकित्ता ५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो । पोहोर कर्पोरेसनको मूल्य १३ हजार ७ सय ८० रुपैयाँ सम्म पुगेको थियो भने न्यूनतम ४ हजार ४ सय ७० रुपैयाँसम्म सेयर किनबेच भएको थियो ।

त्यसैगरी, लघुवित्त कम्पनीहरुको सबैभन्दा उच्च मूल्यमा सेयर कारोबार हुने कम्पनीमा जीवन लघुवित्त कम्पनी रहेको छ । जसको बुधबार सेयर मूल्य प्रतिकित्ता ४ हजार ९ सय ७५ रुपैयाँमा थियो । पोहोर यो कम्पनीको मूल्य ५ हजार ५ सय १६ रुपैयाँ सम्म पुगेको देखिन्छ । उच्च मूल्यमा कारोबार हुने अर्को लघुवित्त कम्पनीमा महिला लघुवित्त पर्छ । महिला लघुवित्तको सेयर मूल्य बुधबार प्रतिकित्ता ३ हजार ६ सय ४८ रुपैयाँमा कारोबार भएको थियो । यो कम्पनीको मूल्य पोहोर ५ हजार ७ सय ४९ रुपैयाँ सम्म पुगेको थियो ।

त्यसैगरी, फरवार्ड लघुवित्त कम्पनीको सेयर मूल्य पनि उच्च रहेको छ । फरवार्ड लघुवित्तको गत बुधबार सेयर मूल्य २ हजार २ सय ९२ रुपैयाँमा कारोबार भएको थियो । पोहोर ३ हजार ३ सय ११ रुपैयाँ सम्म कारोबार भएको फरवार्डको सेयर मूल्य न्यूनतम २ हजार रुपैयाँसम्म पनि कारोबार भएको छ ।

त्यसैगरी, राम्रो प्रतिफल दिएर उच्च मूल्यमा सेयर कारोबार हुने कम्पनीमा हिमालय डिस्टिलरी पनि पर्छ । हिमालयको बुधबार सेयर मूल्य ३ हजार ९५० रुपैयाँ रहेको थियो । पोहोर ७ हजार ९ सय ३८ रुपैयाँ सम्म पुगेको सेयर मूल्य घटेर न्यूनतम ३ हजार ७ सय ८० रुपैयाँसम्म पनि किनबेच भएको थियो ।

अर्को राम्रो कम्पनीमा नागरिक लगानी कोष पनि रहेको छ । लगानी कोषको प्रतिकित्ता सेयर मूल्य बुधबार ३ हजार १ सय ६८ रुपैयाँ रहेको थियो । पोहोरसम्म प्रतिकित्ता ४ हजार ५ सय ६० रुपैयाँ सम्म कारोबार भएको कम्पनीको न्यूनतम मूल्य २ हजार ६ सय २५ रुपैयाँसम्म कारोबार भएको थियो । – आर्थिक संदेशबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय