एमाले-माओवादी मिलाउने पहलले गति लिन थालेपछि…

काठमाडौं, ३ चैत्र । नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मिलाउने पहलले गति लिन थालेको छ । दुवै दलका मध्यम तहका नेताहरुले भित्र भित्र यस्तो पहल थालेका हुन् ।

२०७९ सालमा स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुन गइरहेको छ । तर, कम्युनिस्ट पार्टीहरु विभाजित छन् । २०७४ को प्रतिनिधि सभा र प्रदेश सभामा तालमेल गरेर चुनाव लडेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र यतिबेला एक अर्काको कट्टर विरोधी देखिएका छन् । एमाले समेत फुटेर नेकपा एकीकृत समाजवादी पार्टी बनेको छ ।

२०७४ को चुनावमा कम्युनिस्टहरु एक भएर प्रतिष्पर्धामा उत्रदा बहुमत ल्याउन सफल भएका थिए । तर, फुटेपछि भएको राष्ट्रिय सभाका निर्वाचनहरुमा एमालेले धक्का खाएको छ । यसकारण एमालेकै केही नेता कम्युनिस्ट एकतामा सक्रिय भएका छन् ।

एमाले नेताहरु घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायतले एकताको पहल गरिरहेका हुन् । भुसालले आज लेखमार्फत् कम्युनिस्ट एकतामा जोड दिएका छन् । उनले एकता अनिवार्य भएको तर्क गरेका छन् ।

भुसालको लेख चिनियाँ विदेशमन्त्री वाङ ई नेपाल भ्रमणमा आउनुभन्दा अगाडि प्रकाशित भएको हो । यसलाई अर्थपूर्ण मानिएको छ ।

चीन कम्युनिस्ट एकतामा जोड दिदै आएको छ । उसले विगतमा खुलेरै ओली र प्रचण्डको एकता टुट्न नदिने पहल गरेको थियो । तर, सफल हुन सकेन ।

अहिले नेकपा माओवादी केन्द्र र नेकपा एस सत्ता गठबन्धनमा छन् । उनीहरु काँग्रेससँग तीनै तहको चुनावमा गठबन्धनको प्रस्ताव गरिरहेका छन् । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा यसमा सकारात्मक छन् । तर, काँग्रेसभित्रै यसको विरोध भइरहेको छ ।

काँग्रेस गठबन्धनका लागि तयार नभए प्रचण्डले विकल्पमा ओलीसँग तालमेल गर्ने तयारीमा छन् । यो सजिलो नभएपनि असम्भव भने छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय