चुनावमा हाम्राे पार्टीकाे शक्ति देखिनेछ, हामीलाई खिसीटियुरी गर्नेहरूको हरिबिजाेग हुनेछ : अध्यक्ष नेपाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदाे स्थानीय तहको चुनावमा आफ्नो पार्टीको शक्ति देखिने बताउनुभएको छ ।

आज बिहीवार पार्टी केन्द्रीय कार्यालयमा फागु पूर्णिमाको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उहाँले आउँदै गरेकाे स्थानीय तह चुनावमा आफ्नाे पार्टीको शक्ति देखिने भन्दै आफूहरूलाई खिसीटियुरी गर्नेहरूको हरिबिजोग हुने बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘हाम्रो पार्टीको भविष्य उज्ज्वल छ । वैशाख ३० गतेको चुनावमा सत्य र न्यायको प्रतीकको रूपमा रहेको कलमले अवश्य कमाल गर्नेछ । पार्टीको शक्ति चुनावको मैदानमा देखिनेछ । हाम्रा खिसी टिउरी गर्ने तत्त्वहरूको हरिबिजोग त्यही बेलामा थाहा हुनेछ ।’

अध्यक्ष नेपालले स्थानीय तह चुनावमा प्रगतिशील भूमिका खेल्नेहरू पुरस्कृत र प्रतिगामी भूमिका खेल्नेहरू दण्डित हुनुपर्ने धारणा राख्नुभयो । प्रतिगामी भूमिका खेल्नेहरू पुरस्कृत भएमा समाज बाँच्न लायक पनि नहुने उहाँको भनाइ छ । राजनीतिलाई आकर्षणको विषय बनाउनका लागि राजनीतिमा असल पात्र, प्रवृत्ति र चरित्रलाई अगाडि सार्नुपर्ने उहाँले बताउनुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष नेपालले युट्युबले झुटा समाचार र सूचनाहरू आउने गरेकाे गुनासा सुनिएकाे भन्दै जिम्मेवार भएर प्रस्तुत हुन पनि आग्रह गर्नुभयो । सञ्चारमाध्यमलाई सही बाटोमा हिँडाउनका लागि सरकारले प्रेरित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष नेपालले मिडियाकाे जनचेतना जगाउने, देशभक्तिको भावना जगाउने र लोकतन्त्रका मूल्य, मान्यतालाई आत्मसात् गर्नलाई अभिप्रेरित गर्ने जिम्मेवारी भएकाले त्यहीअनुसार लाग्न सञ्चारकर्मीहरूलाई आग्रहसमेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय