पाँच दिनयता कोरोना संक्रमितको मृत्युदर शून्य, संक्रमण दर पनि नगण्य

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर शून्यमा झरेको छ । पछिल्लो पाँच दिनयता कोरोनाका कारण मृत्यु हुने दर शून्यमा झरेको हो ।

पछिल्लो समय कोरोना संक्रमणदर पनि घट्दै गएको छ । गत माघ २ गते १२ हजारसम्म दैनिक संक्रमित भेटिएको थियो । अहिले दैनिक एक सयको हाराहारीमा संक्रमित भेटिने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । महामारीको दोस्रो लहरमा एकैदिन २७६ जनाले कोभिडबाट ज्यान गुमाएका थिए । सबैमा खोपको पहुँच पुगेकाले पनि मृत्युदर घट्दै गएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले खोपको पहुँचले पनि मृत्युदर घटाएको बताइन् । उनका अनुसार हालसम्म एक करोड ९९ लाख २२ हजार १६४ जनाले पहिलो मात्राको खोप पाइसकेका छन् भने दोस्रो–तेस्रो मात्राको खोप पनि ३४ लाख ५ हजार ४५७ जनाले खोप लगाइसकेका छन् ।

गत फागुन १७ गते अर्थात मार्च १ तारिखमा नेपालमा १५८ जनामा कोरोना संक्रमण हुँदा दुईजनाको मृत्यु भएको थियो । १८ गते १२७ जना कोभिड पोजेटिभ भएको थियो भने तीनजनाको मृत्यु भएको थियो । १९ गते पनि कोभिडबाट तीनजनाको निधन भएको थियो भने २० गते १२६ जनामा कोरोना संक्रमण हुँदा एकजनाको निधन भयो ।

२१ गते ९३ जनामा संक्रमण पुष्टि हुँदा मृत्युदर भने शून्य थियो । २२ गते दुईजना संक्रमितको मृत्यु भयो । २३ र २४ गते १–१ जनाको निधन भएको थियो । २५ र २६ गते कोरोना संक्रमणबाट मृत्युदर शून्यमा झर्यो । २७ गते भने कोरोनाबाट एकजनाको ज्यान गयो । २८, २९, ३० गते मृत्युदर शून्य छ । चैत १ र २ गते पनि संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ भने संक्रमणदर पनि घटेको छ ।

बुधबार ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । १६ दिनको तथ्यांक हेर्ने हो भने कोरोना संक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । पछिल्लो पाँच दिनमा एकजनाको पनि कोभिडबाट मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो १५ दिनमा १७ सय ८ जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमणदर १–२ प्रतिशतमा झरेको छ ।

नेपालमा कोभिड संक्रमण घट्दै गइरहँदा छिमेकी मुलुक चीनमा भने तीव्र गतिमा बढिरहेको छ । दैनिक एक लाखभन्दा बढी संक्रमित भेटिन थालेपछि चीनका ठूला ११ भन्दा बढी सहरमा लकडाउन छ ।

चीनका ठूला सहरमा कोरोना संक्रमण फैलन थालेपछि नेपालमा पनि फेरि जोखिम भने बढेको छ । ‘नयाँ भेरियन्ट आउने जोखिम रहन्छ’, इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले भने, ‘ओमिक्रोनभन्दा कडा खालको आउँछ कि कमजोर आउँछ त्यो भने अहिले भन्न सकिन्नँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय