मुसिकोटमा एक महिने ईलेक्ट्रिसियन तालिम सुरु

सागर भण्डारी, गुल्मी । मुसिकोट नगरपालिकामा एक महिने ईलेक्ट्रिसियन तालिम सुरु भएको छ । नगरभित्र रहेका युवाहरुलाई सीप प्रदान गरी स्वरोजगार बनाउने उद्धेश्यले ईलेक्ट्रिसियन तालिमको सुरुवात गरिएको नगरपालिकाले जनाएको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयको आर्थिक सहयोग एवम् तुराङ बहुप्राविधिक शिक्षालयको सहजीकरणमा सुरु भएको तालिममा नगरपालिकाका विभिन्न वडाका २० जना युवाहरु सहभागी भएका छन् । उनीहरुले १ महिनाको अवधीमा ईलेक्ट्रिसियन सम्बन्धी तालिम लिने छन् ।

बुधवार भएको उद्घाटन समारोहमा नगरप्रमुख सोमनाथ सापकोटाले सीप र ज्ञान भन्ने कुरा जुनसुकै ठाउँमा गएर पनि काम लाग्ने भएकाले निकै नै ध्यानदिएर सिक्न सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले यस्ता अल्पकालिन तालिमहरुले मध्यमस्तरको जनशक्ति सिर्जना गर्ने र जसबाट स्वरोजगार बन्न सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभयो ।

तुराङ बहुप्राविधिक शिक्षालयका प्रमुख प्रदिपराज पाण्डेले बाहिर गएर यही तालिम लिँदा अतिरिक्त पैशा खर्च हुने भन्दै आफ्नै गाउँ घरमा आएको निशुल्क तालिममा सहभागी भई लाभ लिन आग्रह गर्नुभयो ।

पाण्डेले यस तालिम पश्चात सुरुमा सहभागीले सहभागी भएको प्रमाणपत्र पाउने र तालिम सम्पन्न भएपश्चात सीप परिक्षण गरि योग्यताको आधारमा प्रमाणपत्र दिईने बताउनुभयो । उक्त प्रमाणपत्र वैदेशिक रोजगारीमा जाँदा समेत काम लाग्ने तथा विश्वका विभिन्न देशमा काम लाग्ने बताउनुभयो । उहाँले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका ८ मजुवामा स्थापना भएको तुराङ बहुप्राविधिक शिक्षालयले विभिन्न प्राविधिक विषयहरुमा शसुल्क रुपमा अध्यापन गराईरहेको जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा नगरपालिकाका रोजगार सयोंजक विष्णु बहादुर महत, ईन्जिनियर प्रकाश खनाल, प्रशिक्षक एवम् सहभागीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका फिल्ड सयोंजक महेन्द्र घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय