सागर भण्डारी मुसिकोट । ११२ औँ अन्तराष्ट्रिय नारी दिवस नेपाल महिलासघं मुसिकोट नगर कार्यसमितिले विविध कार्यक्रम सहित सम्पन्न गरेको छ ।
सबै जना साथ भएर नारी प्रतिको पूर्वाग्रह तोड्ने र समानताको आवाज बलियो बनाउने आग्रहका साथ होटल दरबारमा सम्पन्न कार्यक्रममा विभिन्न नृत्य सहित नारी अधिकार र सवालका विषयमा छलफल समेत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु कुमारी सापकोटाले नारी दिवसको ईतिहासका बारेमा बताउनुभएको थियो । उहाँले विगतको भन्दा अहिले नारी अधिकारका सवालमा धेरै कुराहरु परिवर्तन भएपनि अझै पनि नारी विभिन्न बहाना र प्रलोभनमा पिडित बन्न बाध्य भएको बताउनुभयो । उहाँले महिलाका लागि समान अवसर, सामाजिक सुरक्षा, आर्थिक समावेशीता र विभेदरहित व्यवहार हुनु पर्नेमा जोड दिदैं समान समाज निर्माणका लागि सबैको सोंच र व्यवहारमा पनि समानताको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य झविलाल भण्डारीले नारी दिवसको अर्थ नारीले नै बुझ्न नसकेको भन्दै देशमा भएका विभिन्न परिवर्तनहरुमा नारीहरुको भूमिका प्रसंसनीय रहेको बताउनुभयो । उहाँले सम्पूर्ण नारीहरुलाई नेतृत्व तहमा आउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति पूर्व सचिव हरिनारायण सापकोटाले केही सिमित लैगिक समानताको प्रगती भएता पनि सबै क्षेत्रमा समानता प्रत्याभूत हुने गरी समान अवसर समान सहभागिता र समान पहुँचमा नेपाल सरकार लगायत सरोकारवालाहरुले दिनुपर्ने बताउनुभयो । उहाँले सामन्ती सोँच, विभेदकारी संस्कार र अन्धविश्वासले पनि नारीहरु हिसांमा पर्ने भन्दै पहिले सबै महिलाहरु आफ्नो क्षेत्रमा दक्ष बन्न आग्रह गर्नुभयो ।
त्यस्तै नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति सभापति मोहन घिमिरेले महिलाहरुलाई राजनैतिक रुपमा प्रतिनिधित्व नभएसम्म सामाजिक रुपान्तरण सम्भव नभएको धारणा व्यक्त गर्नुभयो । उहाँले महिलाहरुलाई सामाजिक, राजनैतिक तथा आर्थिक रुपले सक्षम बनाउन सके विभेद आफै अन्त्य हुने भन्दै नेतृत्वमा पुग्दैमा विभदे अन्त्य नहुने बताउनुभयो । देशको आधा भन्दा बढी जनसंख्या ओगटेका महिलाहरुलाई स्थापित गर्ने र आयआर्जनमा जोड्न काँग्रेस प्रतिबद्ध रहने उहाँको धारणा थियो ।
त्यस्तै नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति सदस्य कृष्ण प्रसाद सापकोटाले महिलाहरु महिलाबाटै हिसांमा पर्ने भन्दै त्यसका लागि शिक्षाको मूलधारमा ल्याउनु आवश्यकता रहेको औँल्याउनुभयो ।कार्यक्रममा नेपाल तरुण दल विभाग केन्दीय सदस्य खगेश्वर सापकोटाले महिलाहरुले आफ्नो अधिकार प्राप्तिका लागि आफै सघंर्ष गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम नेपाल महिलासघं मुसिकोट नगर सभापति सुमित्रा भण्डारीको अध्यक्षता एवम् नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति सहसचिव सुस्मा सापकोटा तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो ।


