काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो वा बुस्टर डोजका रुपमा पहिल्यै लगाएको खोप लगाउन आग्रह गरेको छ ।
अर्को खोप लगाउँदा शरीरमा फरक प्रतिक्रिया आउन सक्ने भएकाले यस्तो सिफारिस गरिएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी बताउछन् । भन्छन्, ‘पहिला जुन खोप लगाएका छौँ, त्यही लगाउन सिफारिस गरेका छौं । एउटा खोप लगाएकोमा अर्को मिसाउने सिफारिस गरेका छैनौँ ।’
उनका अनुसार कोभिशिल्ड र अस्ट्रजेनेका खोपको बनावट एउटै हो । त्यसैले अस्ट्राजेनेकाको ठाउँमा कोभिशिल्ड, कोभिशिल्डको ठाएँमा अस्ट्रजेनिका लगाउँदा फरक पर्दैन ।
तर कोभिशिल्ड वा अस्ट्रजेनेका लगाएको व्यक्तिमा भेरोसेल लगाउन सरकारले सिफारिस नगरेको सहप्रवक्ता अधिकारीले बताए ।
भन्छन्, ‘भ्याक्सिनले गर्ने प्रतिक्रिया फरक हुनसक्छ । त्यसले शरीरभित्र अरु प्रतिक्रिया जनाउन सक्छ । त्यसैले सबै जनालाई जे खोप पहिला लगाएका छौँ, त्यही खोप नै अतिरिक्त मात्राका रुपमा लगाउन अनुरोध गर्दछु ।’
यो पनि पढ्नुहोस् – काठमाडौं । सरकारले शुक्रबारदेखि सार्वजनिक स्थानमा जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गरेको छ ।
सबै मन्त्रालयसहित सरकारी कार्यालय र सार्वजनिक स्थानमा छिर्न अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरिएपनि कार्ड हराएकाहरु भने समस्यामा परेका छन् । पुनः खोप कार्ड बनाउने प्रक्रिया अस्पष्ट र झन्झटिलो हुँदा कार्ड हराएकाहरुले मर्कामा परेको गुनासो गरेका छन् ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको खोप कार्ड हराएमा कसरी प्रतिलिपि लिने ? भन्ने बारेमा सूचना जारी गरेको थियो । जसमा दुवै डोज खोप लगाएकाले दोस्रो मात्रा लगाएको खोप केन्द्र र स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखामा गएर लिन सकिने उल्लेख गरेको छ ।
त्यस्तै, जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुले सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट प्रतिलिपि लिन सकिने मन्त्रालयको सूचनामा उल्लेख थियो । तर मन्त्रालयले भनेअनुसार खोप कार्डको प्रतिलिपि बनाउन नसकिएको गुनासो आउने गरेको छ ।
काठमाडौं चावहिलका ६२ वर्षीय कविप्रसाद प्याकुरेलले पहिलो डोज त्यहींको स्थानीय विद्यालयमा लगाए । दोस्रो डोज चावहिलकै ओम अस्पतालमा लगाए । दुवै डोज खोप लगाएपछि उनको कार्ड हरायो । अहिले सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य गरेपछि कार्डको प्रतिलिपि लिन खोज्दा सरकारी कार्यालयले अर्काे कार्यालयलाई देखाएर पन्छिने कोशिश मात्रै गरिरहेका छन् ।
प्याकुरेल भन्छन्, ‘स्वास्थ्य मन्त्रालयले दोस्रो डोज खोप लगाएको केन्द्रबाट लिन सकिने भन्यो, त्यही अनुसार म ओम अस्पताल गएँ । मसँग खोप लगाएको मिति लगायत सबै विवरण थाहा छ, तर अब कसरी कार्ड पाउने ?’
प्याकुरेलका अनुसार ओम अस्पतालले विवरण छैन भनेर वडा कार्यालयमा जान सुझाव दियो, वडा कार्यालयले जिल्ला स्वास्थ्य कार्यालय टेकुमा जान भन्यो । स्वास्थ्य कार्यालयले आफूसँग रेकर्ड नभएको भन्दै फेरि दोस्रो डोज खोप लगाएको केन्द्रमा गएर विवरण लिन सुझाव दिएपछि उनी अन्ततः हार मानेर बसेका छन् ।
त्यस्तै, इटहरीका ३७ वर्षीय प्रेम रिजालले पनि काठमाडौंको मीनभवनस्थित सिभिल अस्पतालमा पहिलो डोज र प्रसूतिगृहमा दोस्रो डोज खोप लगाए । दुई डोज खोप लगाएपछि उनको पनि खोप कार्ड हरायो ।
अहिले कार्ड अनिवार्य गरेपछि उनी नयाँ कार्ड बनाउने चक्करमा हिँड्न थालेका छन् । तर उनले पनि प्याकुरेलको जस्तै कार्डको प्रतिलिपि बनाउन सकेनन् ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंमा अहिले दैनिक दजनौं खोप कार्ड हराएकाहरु कार्डको प्रतिलिपि बनाउन आउने गरेका छन् ।
तर आफूसँग सबै खोपकर्ताको तथ्यांक नभएकाले सबैलाई कार्ड बनाइदिन सम्भव नभएको कार्यालयका अधिकारीहरु बताउँछन् । कार्यालय प्रमुख शम्भु काफ्लेले पहिले खोप लगाएको प्रमाण नभई प्रतिलिपि बनाइदिन नमिल्ने भएकाले धेरैलाई खाली हात पठाउनु परेको बताउँछन् ।
अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘दैनिक दर्जनौं कार्ड बनाइदिन भन्दै आउँछन्, हामीसँग सिभिल, टेकु, वीर लगायत केही सरकारी अस्पतालमा खोप लगाउनेको मात्रै विवरण छ, त्यो विवरण पुस्तिकामा उहाँहरुलाई नाम खोज्न भन्छौं, भेटियो भने बनाइदिन्छौं अन्यथा त्यसै फर्कनुपर्ने बाध्यता छ ।’
तर दोस्रो डोज अन्य अस्पताल वा अरु खोप केन्द्रमा लगाएकाहरुको भने प्रतिलिपि दिन नसकिएको उनी बताउँछन् । – अनलाईखबरबाट


