नेकपाप्रति असन्तुष्ट हुँदै गुल्मी काँग्रेसमा प्रवेशको लहर ।

रमेश विश्वकर्मा,आइतवार, मंसिर ७, गुल्मी ।

पछिल्लो समय गुल्मीमा विभिन्न राजनीतिक दल परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लहर बढ्दै गइरहेको छ । सत्तारुढदल नेकपाबाट असन्तुष्ट हुँदै धेरै नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै गएको हो ।

शनिबार जिल्लाको मालिका गाउँपालिकाको छापहिले र दर्लिङ्गका झण्डै पाँच दर्जन भन्दा बढीले नेकपा सहित अन्य पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ, जिल्ला सचिव खिलध्वज पन्थी, महासमिति सदस्यहरु शालिकराम पन्थी, प्रेमनारायण भण्डारी, महेन्द्र प्रसाद भण्डारी, जिल्ला सदस्य चन्द्र बहादुर महतले स्वागत गरेका थिए । यस्तै क्षेत्रीय सभापति भगतसिंह खड्का, क्षेत्र नम्बर २ प्रदेश ख का सभापति रेखाकुमार जिसी, तरुण दलका क्षेत्रीय सभापति झविन्द्र अर्याल, मालिका गाउँपालिका छायाँ सरकार प्रमुख उपेन्द्र अर्याल, नेपाल विद्यार्थी संघका पूर्व जिल्ला उप–सभापति निरोज मरासीनी लगायतका नेपाली कांग्रेसका स्थानीय नेताहरुले समेत उनीहरुलाई भव्य रुपमा स्वागत गरेका छन् ।

समाज परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएका उनीहरुले आफु आवद्ध पार्टीमा भएका गतिविधिहरुप्रति चरम असन्तुष्टि जनाउँदै काँग्रेसले अगाँलेको समाजवादको सिद्धान्तमा एकताबद्ध हुन काँग्रेसमा प्रवेश गरेको बताएका छन् । पार्टीमा नयाँ प्रवेशीहरुलाई स्वागत गर्दै सभापति श्रेष्ठले वर्तमान नेपाल कम्युनिष्ट पार्टीको सरकार केवल भष्ट्रचार र काण्डैकाण्डमा चुर्लुम्म डुबेकाले यतिबेला पश्चिमको अग्लुङ्ग र पूर्वको अर्बेनीबाट कांग्रेस प्रवेशीहरुको लहर बढ्दै गएको बताए । जिल्लामा अब यसैगरी नेपाली काँग्रेसमा प्रवेश गर्नेको लहर बढ्दै जाने सभापति श्रेष्ठले विश्वास व्यक्त गरे । उनले भने ‘सुखमा सबैले साथ दिन्छन् । तर दुखमा साथ दिने बिरलै हुन्छन् । काँग्रेस यतिबेला प्रतिपक्षमा छ ।’ नयाँ प्रवेशीहरुलाई बीपीले परिकल्पना गरेको समाजवादको बाटोमा विचल्लित नभई एकाकार हुन समेत सभापति श्रेष्ठले सबैलाई आग्रह समेत गरे ।

सचिव पन्थीले काँग्रेस सधैँ गरिब, दलित, अन्याय, अत्याचार, भष्ट्रचारका विरुद्ध लड्ने पार्टी भएको बताए । कांग्रेस सधैँ देश र जनताको पक्षमा काम गर्ने पार्टी भएको उल्लेख गर्दै सचिव पन्थीले भने ‘अहिले जनता भोकसँग लडिरहेका छन् । रोगले प्रताडित छन् । सरकारले उनीहरुको आवाज सुन्दैन । महसुस गदैन । काँग्रेसले भोकाहरुको पेट भर्न चाहान्छ । गरिब, दुखि, रोगीको सारथी बन्न चाहान्छ ।’ नेपाली काँग्रेस दर्लिङ्गका सभापति भरत केसीको सभापतित्व रहेको कार्यक्रममा सचिव प्रेम केसीको स्वागत तथा विनोद श्रीसको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय