काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस भएका छन् ।
बुद्ध एयरका अनुसार काठमाडौंबाट ७:४४ मा उडेको उडान नं ४५१ जहाज निर्धारित समयअनुसार ८:४४ मा अवतरण हुनुपर्ने थियो । तर, नेपालगञ्ज विमानस्थलको मौसम प्रतिकुल नभएपछि जहाज होल्डमा पर्यो ।
यो जहाज बिहान ९:१८ मा अवतरण भएको थियो । सो क्रममा एक महिला यात्रु बेहोस भेटिएको र उनलाइ बुद्ध एयरको एम्बुलेन्सबाटै नेपाल आर्मीको अस्पतालमा लगिएको थियो ।
अस्पतालमा सामान्य उपचारपछि उनी निको भएर फर्किसकेको कम्पनीका एक अधिकारीले जानकारी दिए । ‘जहाज धेरै समय होल्ड भएपछि आत्तिएर बेहोस भएको जस्तो देखिन्छ,’ उनले भने । जहाजमा ६९ जना यात्रु थिए ।
यो पनि पढ्नुहोस् – नेपालगञ्ज विमानस्थलमा अवतरण गर्न नसकेर आकाशमा फन्को लगाइरहेको हवाईजहाज । तस्वीर : फ्लाइट राडार
६ माघ, काठमाडौं । मौसममा आएको खराबीका कारण बिहानको समयमा आन्तरिक हवाई उडान प्रभावित भएको छ ।
काठमाडौं, पोखरा, नेपालगञ्ज, सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थलहरु कम भिजिविलिटीका कारण बन्द छन् । बुद्ध एयरले विमानस्थलहरु बन्द हुँदा आफ्नो उडान प्रभावित भएको सूचना जारी गरेको छ ।
काठमाडौंबाट नेपालगञ्ज उडेको यती एयरलाइन्सको जहाजलाई पनि केहीबेर दाङको आकाशमा होल्ड गरिएको छ ।
पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम, कर्णालीलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।
साथै पश्चिम र पूर्वी तराईमा हुस्सु र कुहिरो लागेकाले पारदर्शिता कम छ ।-अनलाइनखबर


