काठमाडौं ।- कोरोना संक्रमितको बढ्दै गएपछि सरकारले आन्तरिक हवाई उडानमा नयाँ नियम लागू गरेको छ । मन्त्रिपरिषद्को बैठकले आन्तरिक हवाई उडानमा नयाँ नियम लागू गरेको हो ।
नयाँ नियमअनुसार हवाई उडानमा चालक दल र सबै यात्रुले मास्क तथा फेस सिल्ड अनिवार्यरुपमा लगाउन पर्ने भएको छ । यस्तै, हवाई जहाज भित्र अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ ।
यसका साथै, प्रत्येक उडानपछि हवाई जहाज र ब्यागेज निसंक्रमित गर्नुपर्ने, चेक इन, बोर्डिङ, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भिडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागू गर्नुपर्नेछ ।
यसैगरी, सम्बन्धित वायु सेवा सञ्चालकको खर्चमा यात्रुहरूको एन्टिजेन परिक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्रा यात्रा गराउने मन्त्रिपरिषद्को निर्णय छ ।
यस्तै कोरोना जोखिमलाई ध्यान दिँदै वायु सेवा संचालक संघले हवाई यात्रुहरूका लागि सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य पालना गर्ने निर्णय गरेको छ ।
संघको बैठकले तय गरेका मापदण्डमा हवाईजहाजभित्र सेनिटाईजरको व्यवस्था गर्नु पर्ने, प्रत्येक उडानपछि जहाज र व्यागेज निसंक्रमित गर्नुपर्ने, चेक(इन, बोडिङ्ग, व्यागेज क्लेम गर्ने स्थान तथा प्रतीक्षालयमा भीडभाड हुन नदिने र विमानस्थल प्रवेश गर्दा कोरोना खोप लगाएको प्रमाण देखाउनुपर्ने लगायत छन् । = ज्योतिन्यूज



