काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो ।
यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८२८ जनाको परीक्षण गरिएको थियो । १७ हजार ८७२ जनाको पीसीआर टेष्ट गर्दा ८७३० र ४ हजार ९५६ जनाको एन्टीजेन परीक्षण गर्दा १५२८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् ।
यो पनि पढ्नुहोस् -काठमाडौं । कोरोनाको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ ।
उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले एकै प्रकृतिको आदेश जारी गरेका हुन् । आज मंगलबार मध्यरातदेखि लागू हुने आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाइएको छ ।
यस्तै गोष्टी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न प्रशासनले भनेको छ । भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुन प्रशासनको सूचनामा भनिएको छ ।
माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायतमा माघ १५ गतेसम्म बन्द गर्ने निर्णय पनि प्रशासनले गरेको छ ।
धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूरा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने पनि प्रशासनको आदेशमा भनिएको छ ।
सार्वजनिक स्थलमा माघ ७ देखि अनिवार्य खोप कार्ड देखाउनु पर्ने सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने लगायतका निर्णय पनि प्रशासनले गरेको छ ।


