मुसिकोट नगरपालिकामा निर्माणाधिन प्रशाशकीय भवन र १५ शैयाको अस्पतालको सार्वजनिक सुनुवाई सम्पन्न

सागर भण्डारी मुसिकोट । गुल्मीको मुसिकोट नगरपालिकामा निर्माणाधिन प्रशाशकीय भवन र १५ शैयाको अस्पताल योजनाको सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । मुसिकोट नगरपालिकाको मुख्य पूर्वाधारका योजना अन्तर्गत निर्माणहुँदै गरेका दुई ठुला योजनाको एक साथ सार्वजनिक सुनुवाई गरिएको हो ।

उक्त योजनाहरुको हालसम्मको भौतिक तथा वित्तिय प्रगतीको सार्वजनिकीकरण गर्ने र नागरिकका गुनासाहरु सकंलन गर्ने उद्धेश्यले आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि, निर्माण व्यवसायी, विषयत समितिका प्रमुख तथा प्रतिनिधि, कार्यपालिका सदस्यहरु, कर्मचारीहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा निर्माणाधिन दुवै योजनाको हालसम्मको वित्तिय प्रगतीबारे नगरपालिकाका उजुरी प्रशाशक विष्णु प्रसाद खरेलले प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले नगरपालिकाको प्रशाशकीय भवन निर्माणका लागि २०७७ साल पुष १७ गते श्रेष्ठ महादेव खिम्ती जे.भि तम्घाससगं ८ करोड ४८ लाख ११ हजार ४ सय २० रुपैयाँमा २०७९ पौष १७ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको जानकारी दिनुभयो । त्यस्तै १५ शैयाको अस्पतालका लागि ११ करोड, १० लाख २६ हजार १ सय आठ रुपैयाँमा सोही कम्पनीसगं २०७८ जेठ २५ गते २ वर्षभित्र निर्माण गर्ने गरी सम्झौता भएको बताउनुभयो ।

त्यसै गरि सोही अवसरमा नगरपालिकाका लेखा सयोंजक बालकृष्ण गौतमले विनियोजित बजेट र कार्यान्वयनको अवस्था र हालसम्म सम्झौता रकम मध्ये फछ्र्यौट भएको रकमका बारेमा सहभागीलाई प्रष्ट पार्नुभएको थियो ।

त्यस्तै नगरपालिकाका ईन्जिनियर प्रकाश खनालले दुबै योजनाको भौतिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै निर्माणाधिन प्रशाशकीय भवन लिफ्ट सहितको ४ तले रहने र जसमध्ये ३ तलाको ढलानको चरणमा रहेको बताउनुभयो । उहाँले समग्रमा उक्त भवनको ५५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । त्यस्तै १५ शैयाको अस्पताल पनि सुविधा सम्पन्न र प्रविधिमैत्री बन्दै गरेको र जसको १० प्रतिशत निर्माण कार्यसम्पन्न भएको जानकारी गराउनुभयो ।

प्रतिवेदन माथि सहभागीहरुले आफ्नो धारणा प्रस्तुत गरेका थिए । जसमध्ये नेकपा माओवादी केन्द्र मुसिकोटका सचिव युवराज खरेलले प्रशाशकीय भवन बन्दै गरेको ठाउँनै अनुपयुक्त भएको धारणा व्यक्त गर्नुभयो । त्यस्तै नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितिका सभापति मोहन घिमिरेले अहिले बन्दै गरेको प्रशाशकीय भवन भौगोलिक हिसाबले अनुपयुक्त रहेको र सामान्य नागरिकको पहुँचबाट टाढा रहेको बताउनुभयो । घिमिरेले भवन निर्माण गर्दा पहिरो लगायतका प्राकृतिक प्रकोप, अपाङ्गमैत्री लगायतका कुरालाई ध्यानमा नराखिएको भन्दै निर्माणको काम समेत ढिला सुरु गरिएको बताउनुभयो ।

उहाँले नागरिक सहभागीतामा आधारित योजनाहरुको निर्माणमा नागरिक सहभागीता जुटाउने कुरामा विशेष ध्यान दिन आग्रह गर्नुभयो । त्यस्तै उहाँले नेपाली काँग्रेसले हालसम्म जिम्मेवार प्रतिपक्षको भुमिका निर्वाह गरेको भन्दै त्यसलाई कमजोरीको रुपमा नलिईदिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले मुसिकोट नगर अध्यक्ष प्रकाश काफ्लेले १८ रोपनी क्षेत्रफलमा जिल्लामै नमुना प्रशाशकीय भवन निर्माण गर्न लागेको भन्दै नगरपालिकालाई धन्यवाद दिनुभयो । उहाँले बजारबाट प्रशाशकीय भवनसम्म पुग्ने सडक कालोपत्रेको लागि पहल गर्न आग्रह गर्दै निर्माणको सन्दर्भमा नागरिकस्तरबाट चासो र चिन्तन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा जवाफदेही वक्ताको रुपमा बोल्दै नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले पूर्वाधार विकास सबैभन्दा अफ्ठयारो क्षेत्र भएकाले नागरिकको चासो र चिन्तन आवश्यक रहेको बताउनुभयो । उहाँले सघींय सरकार र प्रदेश सरकारको लागतमा निर्माण हुँदै गरेको प्रशाशकीय भवन तथा सघींय सरकारको लगानीमा निर्माणाधिन १५ शैयाको अस्पताल जिल्लाकै नमुना रुपमा कार्य अगाडी बढेको र जसको प्रगती समेत उच्च रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रमका प्रमुख जवाफदेही वक्ता एवम् नगरप्रमुख सोमनाथ सापकोटाले समग्रमा उठेका जिज्ञासाको जवाफ दिँदै बजेट र आवश्यकताका आधारमा नगरपालिकाका यी दुई ठुला आयोजना महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले प्रशाशकीय भवनको निर्माणको क्रममा जग्गा छनौटको विषयलाई लिएर केही ढिला हुन गएपनि स्तरीय र सुविधासम्पन्न भवन निर्माण हुँदै गरेको बताउनुभयो । नगरप्रमुख सापकोटाले प्रशाशकीय भवनका लागि बजारमै उपयुक्त जग्गा छनौट गर्न कोशिस गरिएपनि सम्भव नभएपछि अहिलेको ठाउँमा निर्माण गर्नुपरेको बताउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रम नगरउपप्रमुख कमला शर्माको स्वागत तथा राजश्व शाखा प्रमुख गोविन्द कडेंलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय