ओलीको आरोपः सरकारले भ्रष्टाचारको बचाऊ गर्न मेरो नक्कली ज्वाईँ खडा गर्यो

uझापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफ्ना गलत कामको बचाऊ गर्न आफ्नो नक्कली ज्वाईँ खोज्न थालेको बताएका छन् ।

पछिल्लो समय देशका विभिन्न क्षेत्रमा बतास समूहको रजगजको विषयमा समाचार आईरहेको बेलामा उनले वर्तमान सरकारले भ्रष्टाचार छोप्न नारायणहिटी प्रकरणमा नक्कली ज्वाइँ खडा गर्न खोजिरहेको आरोप लगाएका हुन् ।

आफ्नो गृहजिल्ला झापा पुगेर ओलीले भने, ‘अहिले संचारमाध्यम बोलाएर, फोटो खिच्न लाएर केपी ओलीको ज्वाइँ भन्न लगाइरहेका छन् । मेरा त छोरी देशभरी छन्, छोरीसँग बिहे गर्ने जति सबै ज्वाइँ हुने भए । 

छोरासँग बिहे गर्नेजति सबै बुहारी । यस्ता कुरा लिएर आफ्नो भ्रष्टाचार छोप्न खोज्ने छन् अहिले सरकारमा ।’

ओलीले राष्ट्रसेवक सहकारी संस्थाको कार्यक्रममा सरकारले नारायणहिटी कप्लक्कै खाइसकेको टिप्पणी गर्दै उनले क्याफे संचालनसम्बन्धी ठेक्का पाएको बतास समूहलाई सरकारको संरक्षण रहेको बताए ।

सरकारले अहिले आफ्नो भ्रष्टाचार छोप्न बतासलाई मिडियाबाट केपी ओलीको ज्वाइँ बनाउन खोजेको भन्दै सो आरोप लगाएका हुन् ।

बतास अर्गनाइजेशनका अध्यक्ष आनन्द बतासलाई शेरबहादुर देउवाको निकटस्थ तथा झापाको भद्रपुर ससुराली भएकाले केपी ओलीले ज्वाइँ भन्ने गरेको बताइन्छ ।

ओलीले आफू नेतृत्वको सरकारलाई असहयोग गर्न नेपाली कांग्रेसले कर्मचारीहरुलाई उर्दी जारी गरेको दाबी गरे ।

कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध लाग्न कर्मचारीलाई निर्देशन दिएको दाबी पनि उनले गरे ।

‘तानाशाहीविरुद्ध असहयोग केही समय चल्न सक्छ’, उनले भने, ‘तर लामो समयसम्म कर्मचारीलाई असहयोग गर्नु भन्न मिल्दैन।’’

सरकारले कर्मचारीतन्त्रलाई सत्ता अनुकूल प्रयोग गरेकोसमेत अध्यक्ष ओलीले आरोप लगाएका छन्।

ओलीले गैरआवासीय नेपाली संघको सम्मेलन रोकेर शेरबहादुर देउवा नेतृत्वको सरकार लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध गएको पनि आरोप लगाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय