चिसोको बहानामा मदिरा सेवन नगर्नुस्, नसा च्यापिने समस्या हुनसक्छ

काठमाडौं । मानिसको शरीरमा हुने मेरुदण्डमा अनेकौं हड्डी हुन्छन् । प्रत्येक हड्डीको बीचमा एउटा कालो डिस्क हुन्छ । एक प्रकारको तरल पदार्थ डिस्क नौनी घ्यु जस्तै हुन्छ । दुर्घटनाका कारण हात खुट्टा भाँचिएमा वा हड्डी सर्ने समस्या भएमा दुईवटा हड्डीको बीचबाट उक्त डिस्क बाहिर निस्केर नसालाई च्याप्ने गर्छ ।

जसलाई सामान्य भाषामा नसा च्यापिएको अर्थात् ‘इनभर्टिब्रटल डिस्क प्रोल्याब्स’ भन्ने गरिन्छ ।नसा च्यापिँदा शरीरमा सही नसक्नु पीडा हुन्छ भने बिस्तारै यसको असर खुट्टा र पिँडुलातिर सर्दै जान्छ । दुर्घटनाले मात्रै नभएर जाडो मौसममा अभ्यास नहुँदा पनि नसा च्यापिने समस्या बढी देखिने गर्छ ।

चिसो मौसममा अनेक किसिमका स्वास्थ्य समस्या देखिन्छन् । चिसो मौसममा पर्याप्त पानी पिउने गरिँदैन । जसले डिहाइड्रेसनको समस्या देखिन्छ । त्यस्तै, अभ्यासको अभावले नसासम्बन्धी समस्या र अरु मांसपेशीको समस्या हुन्छ भने पाचन प्रणालीमा पनि समस्या हुन सक्छ । त्यसमध्ये नसासम्बन्धी समस्या हुन नदिन आफ्नो नियमित जीवनशैलीलाई ख्याल गर्न चिकित्सकहरु सुझाव दिन्छन् ।

नियमित अभ्यास नहुँदा शरीरका इन्द्रियहरु सक्रिय हुँदैनन् । शहरी भेगका मानिसको फुर्सद हुने बिहान र बेलुकाको समयमा अभ्यासको लागि निस्कँदा प्रदूषणको जोखिम पनि बढी हुन्छ । त्यसैले चिसोमा हिँडडुलभन्दा पनि बसाइ बढी हुने हुँदा आवश्यक गतिविधि हुँदैन । अरु इन्द्रियजस्तै चिसो मौसममा मुटुकै गतिविधि पनि सुस्त भइरहेको हुन्छ । चिसोकै कारणले छातीको इन्फेक्सन पनि बढिरहेको हुन्छ । यस्तो अवस्थामा नसासम्बन्धी समस्याबाट मुक्ति पाउन के गर्ने त ?

वीर अस्पतालका वरिष्ठ न्यूरो सर्जन एवं न्यूरोलोजी डिपार्टमेन्टका प्रमुख डा. राजीव झा चिसोमा शारीरिक अभ्यासको कमीका कारण नसासम्बन्धी समस्या बढी देखिने गरेको बताउँछन् ।

डा. झा भन्छन्, ‘जाडोमा हाम्रो शरीरका मांसपेशीहरु कक्रक्क पर्ने गर्छन्, कक्रक्क पर्नु भनेको मांसपेशीहरु कडा हुनु हो । त्यसपछि मांसपेशीले नसा च्यापिन्छ ।’ जाडो महिनामा नुहाउँदा जिउ सिरिंग हुन्छ । यसले गर्दा घाँटी कडा भएर आउँछ । चिसोमा घाँटी कडा वा बांगो भयो भनेर अस्पताल आउनेहरु पनि धेरै हुन्छन् । यसले शरीरमा दुखाइ महसुस हुन्छ । तर यो एक हप्ता जतिमा सामान्य अवस्थामा फर्किने समस्या हो ।

घाँटीको नसा च्यापिने लगायतका समस्या कसैलाई भयो भने त्यस्तो समस्या बारम्बार दोहोरिरहन्छ । यसलाई फिजियोथेरापीबाटै निको बनाउन सकिन्छ । तर कतिपय अवस्थामा चिसोको मौसममा देखिने नसासम्बन्धी कतिपय समस्याहरु दीर्घकालीन जोखिम बोक्ने खालका पनि देखिन्छन् ।

समस्या समाधान कसरी गर्ने ?

डा. झा केही विधि बताउँछन्, जसले चिसो मौसममा अभ्यास कम हुँदा पनि नसासम्बन्धी समस्या तुलनात्मक रुपमा कम गर्न सकिन्छ ।

खानाहरु एकदमै पोसिलो र सजिलै पचाउन सकिने खालको खानुपर्छ । कतिपयले चिसोको बहाना बनाएर चुरोट र मदिरा सेवन गर्ने गर्छन् । यसले तत्कालीन अवस्थामा शरीरलाई केही तातो महसुस गराएपनि यसले नसा लगायत शरीरको अंगमा भने चिसोमा झनै समस्या निम्त्याउने गर्छ ।

दोस्रो कुरा बाहिर अभ्यास गर्न नगएपनि घरमै कसरी हुन्छ शरीरलाई चलायमान बनाइराख्नुपर्छ । शारीरिक परिश्रम गर्ने मान्छेको त भइहाल्यो, अरुले पनि दैनिक कम्तीमा ४-५ घण्टासम्म भनेपनि हिँड्नुपर्छ ।

मानिसले चिसो मौसममा अरु बेलामा जस्तो फ्री भएर शारीरिक अभ्यास गर्न सकिँदैन । बिहान हिँडडुल गर्न नसक्नेले सम्भव भए दिउँसोको समयमा अभ्यास गर्न सक्छन् । घर वा कार्यालयमै पनि हिँडडुल गर्नुपर्छ । कम्तीमा दैनिक ८/१० पटक तलमाथि गर्नुपर्छ । एउटै तलामा ८/१० पटक हिँडडुल गर्दा पनि हुन्छ । तर यो बुढाबुढीको हकमा उचित हुँदैन ।

शारीरिक अभ्याससँगै मान्छेलाई पोषणको सन्तुलन पनि मिलाउनुपर्छ । कतिपयले पोषणको नाममा खाना कम गर्ने गर्छन् । त्यो सही हैन, खाना जति पनि खाने हो र एक्सरसाइज पनि गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय